कतारमा कोरोनाभाइरसको खोप बुधबार देखि लगाउन सुरु गरिने

कतारले आफ्नो इतिहासमा कोभिड-१९ को महामारी विरुद्ध अहिलेसम्मको सबैभन्दा ठूलो खोप कार्यक्रम शुरू गर्ने हमाद मेडिकल कर्पोरेशनका संक्रामक रोग प्रमुख डाक्टर अब्दुल्लातिफ अल खलले बताउनु भएको छ । आज भएको प्रेस सम्मेलनलाई सम्बोधन गर्दै डाक्टर खलले खोप वितरणको पहिलो चरण डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्ने बताउनुभएको छ ।
खोपको पहिलो प्राथमिकता निम्न समूहका व्यक्तिहरुलाई दिइनेछ :
१. ७० बर्ष भन्दा माथिका र दीर्घकालीन रोग भएका १६ वर्ष भन्दा माथिका व्यक्तिहरु ।
२. कोभिड-१९का बिरामीका उपचारका लागि खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरू ।
३. मुख्य मन्त्रालयमा पहिलो उत्तरदाताको भूमिका भएका व्यक्तिहरु ।
४. थप खोप उपलब्ध भएपछि अन्य सामान्य व्यक्तिहरुलाई ।
खोप लगाउने प्रक्रिया मौसमी इन्फ्लूएन्जा खोप जस्तै हुनेछ । खोप कतारमा सात प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरू – अल वज्बा, लीबाइब, अल रुवैस, उम सलाल, रावदत अल खैल, अल थुमामा र मुयैथर बाट प्रदान गरिनेछ । प्राप्त जानकारी अनुसार एपोइन्टमेन्टका आधारमा खोप लगाउन यी सात स्वास्थ्य सेवा केन्द्र मध्ये एकमा फोन अथवा एसएमएस मार्फत बोलाइनेछ । खोप निशुल्क लगाउन पाइनेछ । २०२१ सम्ममा कतारले सबै नागरिकलाई खोप उपलब्ध गराइसक्नेछ ।