न्युजिल्याण्ड मस्जिद आक्रमणमा ४९ जनाको मृत्यु , २० घाइते

न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४९ जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराएको छ ।
उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइतेमध्ये अधिकांशलाई गम्भीर चोट लागेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।
थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ । न्युजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु भने सुरक्षित छन् ।
“यो प्रष्ट भएको छ कि आक्रमण आतङ्ककारी समूहबाट भएको हो,” प्रधानमन्त्री अडर्नले भने । “प्रारम्भिक अनुसन्धानपछि हामीलाई आएको सूचनामा आक्रमण सुव्यवस्थित तथा सुनियोजित रहेका बताइएको छ ।”
“अन्य दुई विस्फोटक पदार्थ राखी पठाइएको आशङ्कामा दुई गाडीलाई नियन्त्रणमा लिई निष्क्रिय बनाइएको छ,” प्रधानमन्त्रीले घटनास्थलबाट पाएको सूचनालाई उद्धृत गर्दै जानकारी गराए ।
आक्रमणको फेसबुक लाइभ

डेली मेलका अनुसार यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ती व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेको भिडियो फुटेजमा देख्न सकिन्छ ।
आक्रमणपूर्व उनले ‘लेट्स पाटी स्टार्टस्’ भनेका छन् । उनले कारमा कम्तिमा ६ वटा राइफल राखेको डेलीमेलको दाबी छ । उनले आक्रमणमा प्रयोग गरेको राइफलमा बिभिन्न व्यक्तिहरुको नाम उल्लेख छ ।
बीबीसीका अनुसार, आक्रमणमा संलग्नको आरोपमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आक्रमण गरिएको क्राइस्टचर्च दक्षिण टापुमा अवस्थित न्यूजिल्याण्डकै ठूलो शहर हो ।
(रासस÷एएफपी)