नेपालको पहिलो भूउपग्रह वैशाख ४ मा प्रक्षेपण हुँदै

नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जि्नियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिने भएको यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भइसकेको नास्टले जनाएको छ । नानो स्याटेलाइट लन्चिङ सफलताको दर ९० प्रतिशत तथा ‘अर्बिटल स्लट’मा तैनाथ हुने दर शतप्रतिशत रहेको नास्टको प्राविधिक संकायका प्रमुख इन्जिनियर डा. रवीन्द्रप्रसाद ढकालले बताए ।
यस्तो छ नानो स्याटेलाइटको उपयोगिता
प्रक्षेपणको तयारीमा रहेको नानो स्याटेलाइट १० सेन्टिमिटर घनाकारको छ । नानोको आयु बढीमा तीन वर्ष छ । यसले सामान्य फोटो खिच्ने र ग्राउन्ड स्टेसनसँग सञ्चार गर्ने काम गर्न सक्छ । ग्राउन्ड स्टेसनबाट स्याटेलाइटमा अपलिंक र डाउनलिंक गरिन्छ । यसले खिचेका फोटोहरू विस्तृत अनुसन्धानमा काम नलागे पनि सामान्य जनतालाई सजग गर्ने कार्यमा प्रयोग हुने नास्टको प्राविधिक संकायका प्रमुख ढकालले जनाए । इन्स्टिच्युटले बर्डस् कार्यक्रमअन्तर्गत निर्माण गरेका स्याटेलाइटलाई छुट्टै परियोजनाको रूपमा अगाडि बढाएको छ ।