युरोपियन च्याम्पियन लिग: बार्सिलोना सेमीफाइनलमा, युभेन्टस स्तब्ध

एजेन्सी : लियोनल मेसीको कप्तानीमा रहेको स्पेनिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन लिगको सेमीफाइनलमा पुग्दा क्रिटियानो रोनाल्डोको टोली इटालियन क्लब युभेन्टस प्रतियोगिताबाट बाहिरिएको छ।
मंगलबार राति भएको दोस्रो लेगको खेलमा बार्सिलोनाले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गरी सेमीफाइनलमा प्रवेश गर्दा युभेन्टस डच टोली आजाक्ससँग २–१ को हार व्यहोरी प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो लेगमा म्यानचेस्टर युनाइटेडमाथि १–० को कठीन जित निकालेको बार्सिलोनाले घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा ३–० को एकतर्फी जित निकाली समग्रमा ४–० को जितसहित सेमी फाइनलमा स्थान बनाउन सफल भएको हो । बार्सिालोनाको जितका लागि कप्तान मेसीले पहिलो हाफमा ४ मिनेको फरकमा २ गोल गरे उनले १६औं र २० औं मिनेटमा गोल गरेका हुन् । व्राजिलियन खेलाडी पउल कोटिन्होले ६१ औं मिनेटमा गोल गरे ।

घरेलु मैदानमा बार्सिलोना म्यानचेस्टर युनाइटेडमाथि हाबी भएको थियो । बार्सिलोनाका खेलाडीले ६६ प्रतिशत समय बल आफ्नो कब्जामा लिएका थिए । बार्सिलोना २०१५ पछि च्याम्पियन लिगको सेमीफाइलनमा पुगेको हो ।
इटालियन क्लबमा गएर पनि युरोपियन च्याम्पियन बन्ने रोनाल्डोको सपना भने चकनाचुर भएको हो । पहिलो लेगमा आजाक्ससँग १–१ को बराबरी खेलेको युभेन्टस भने घरेलु मैदानमा भएको खेलमा निरीह बन्यो । रोनाल्डोले २८ औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाए पनि । आजाक्सका खेलाडीले ३४ औं मिनेटमा खेल बराबरी गरे । आजाक्सकाका डिफेन्डर माथ्थिज डेलाइटले ६७ औं मिनेटमा गरेको गोल युभेन्टसको हारको कारण बन्यो । डिफेन्डिङ च्याम्पियन रियल मड्रिडलाई हराउँदै क्वाटरफाइलनमा प्रवेश गरेको आजाक्स समग्रमा
३–२ को जित निकाल्दै रोनाल्डोको टोली युचेन्टसलाई निराश बनायो ।

रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडबाट पछिल्ला तीन सिजन लगातार च्याम्पियन लिगको उपाधि जितेका थिए । यसै सिजन युभेन्टस गएका रोनाल्डोको नयाँ क्ल्बबाट पनि च्याम्पियन लिग जित्ने सपना साकार हुने सकेन ।
