दूतावासको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नेपाली राजदूतावासको आयोजनामा हिजो शुक्रबारका दिन कतारस्थित नेपाली समुदाय एवम् संघसंस्थाहरुसंग ‘नेपाली कामदारहरुको माग प्रमाणीकरणका लागि गरिएका थप व्यवस्थाहरु’ बिषयक विषयगत जानकारीमूलक एवम् अन्तर्क्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण गर्ने मौजूदा व्यवस्था, हाल देखिएका श्रमिकका समस्याहरु, राजदूतावासले मागपत्र प्रमाणिकरणका लागि गरेको नयाँ व्यवस्थाहरु र सो लागू गर्नको औचित्यका बारे प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा दूतावासको प्रस्तुतीकरण पश्चात् सहभागीहरुको विभिन्न जिज्ञासाहरुको राजदूतावासले जवाफ समेत दिएको थियो ।

कार्यक्रममा बोल्दै कतारका लागि नेपाली राजदूत प्रा. रमेश प्रसाद कोइरालाले कतार सरकार बाट श्रमिकका समस्या समाधानका लागि मौजूदा व्यवस्थाहरु अद्यावधिक गर्ने क्रममा रहेको र त्यसै अनुरुप दूतावासले समेत श्रमिक हितलाई मध्यनजर गर्दै योजनाका साथ विभिन्न कार्यहरू अगाडि बढाएको जानकारी दिएका छन् ।

त्यस्तै कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई मध्यनजर गरी नेपाली दूतावासले नेपाल सरकार एवम् कतार सरकारका सम्बन्धित निकायहरुसँगको छलफल एवम् कतारस्थित नेपाली समुदायहरुबाट विभिन्न अवसरहरुमा प्राप्त राय, सुझाव र अनुरोधका आधारमा नेपाली श्रमिकहरुमो हकहित संरक्षण सम्वर्द्धन एवम् सम्वन्धित व्यवसायीहरु समेतका हितलाई दृष्टिगत गरी हाल मागपत्र प्रमाणिकरणको मौजूदा व्यवस्थामा परिवर्तन गरिएको राजदूत कोइरालाले बताएका छन् ।

राजदूतावासले पछिल्ला दिनहरुमा विभिन्न कार्यक्रमहरु मार्फत् सम्बद्ध पक्षहरुसँग छलफल गर्ने र समस्याको जानकारी लिने विषयलाई प्राथमिकता दिएको राजदूत कोइरालाले बताए ।