महिलाहरुका लागि दूतावासमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

नेपाली राजदूतावास दोहाले कतारमा कार्यरत नेपाली महिलाहरुका लागि हिजो दूतावास भवनमा एक सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेकोे छ । विभिन्न कम्पनीका ७० जना महिलाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा कतारमा वैदेशिक रोजगारीका सिलसिलामा आउनु अघि र आए पश्चात गर्न हुने र गर्न नहुने कामहरु कतारको कानून र राजदूतावासले दिने श्रमसँग जोडिएर आउने सेवा र सुविधा तथा राहदानी तथा कन्सुलर सेवाका बारेमा दूतावासका सम्बन्धित अधिकारीहरुबाट जानकारी गराईएको थियो ।

कतारमा क्रियाशिल रहेको नेपाली महिला समाजका कतारका अध्यक्ष अमिना खान लगायत तमु समाज र दाङ्ग देउखुरी समाजका प्रतिनिधिहरुबाट समेत हिजोको अन्तरक्रियात्मक कार्यक्रममा सक्रिय सहभागिता रहेको थियो । कतारमा नेपाली समुदायले भोग्नु परेका विभिन्न प्रकारका समस्याहरु र त्यस प्रकारका समस्या आउँन नदिने सचेतनाका उपायहरुका बारेमा समेत प्रकाश पारिएको थियो ।

कार्यक्रममा सहभागी महिलाहरुलाई कम्पनीकै तर्फबाट राजदूतावासमा ल्याउने र लैजाने व्यवस्था गरिदिने कम्पनीहरुलाई र उपस्थित हुने सबै नेपाली महिला दिदी बहिनीहरुलाई राजदूतावासले धन्यवाद व्यक्त गरेकोे छ ।
कार्यक्रमको समापन पश्चात ईस्लाम धर्मावलम्बी महिला दिदी बहिनीहरुको लागि ईफ्तार र अन्य सहभागीको लागि रात्री भोजको पनि व्यवस्था मिलाईएको थियो ।