कसले मार्ला बाजी : कांग्रेस, एमाले, माओवादी, राप्रपा कि अर्कै ?

कसले जित्ला ? नेपालमा ३१ वैशाखको स्थानीय तहको पहिलो चरणको चुनाव नजिकिँदै गर्दा टोल–टोलदेखि विभिन्न शक्तिकेन्द्रहरूसम्मले आ–आफ्नै आकलन र विश्लेषण गर्न थालेका छन् । पार्टी नजिकका बुद्धिजीवी, संघसंस्थाले आफूअनुकूल विश्लेषण र अनुमान गर्न थालेका छन् । यसबीच केही नया“ पार्टी र अनुहारहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । प्रमुख राजनीतिक नेतृत्वको छवि धुमिल र अलोकप्रिय हु“दै जा“दा पनि आगामी चुनावमा यिनकै पल्लाभारी हुने अनुमान सर्वत्र छ । तीन प्रदेश (३, ४ र ६ ) को ३४ जिल्लाका दुई सय ८३ स्थानीय तह निर्वाचनमा संसद्का तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रबीच नै मूलरूपमा त्रिपक्षीय प्रतिस्पर्र्धा हुने देखिएको छ ।

संसद्को चौथो शक्ति राप्रपा पनि चुनावी दौडमा बढिरहेको छ । नयाँ र साना दलले ल्याउने मतले परिणामलाई प्रभावित पार्ने एकातिर आकलन गरिँदै छ भने सत्तारूढ कांग्रेस–माओवादी, विपक्षी एमाले–राप्रपाका साथै एमालेले वामगठबन्धनका अन्य दलसँग चुनावी तालमेल गरेका कारण कसले बाजी मार्ला ? यसै भन्न सकिँदैन । विगतका २÷२ स्थानीय निकाय र संविधानसभा निर्वाचनमा दलले पाएको मत परिणाम, पछिल्लो निर्वाचन समीकरणका आधारमा चार महानगरपालिका र एउटा उपमहानगरमा कसको पल्ला भारी होला ? प्रस्तुत छ, अन्नपूर्ण टुडेको चुनावी विश्लेषण :

‘कांग्रेसी गढ’ भत्काउने दाउ

काठमाडौं ‘कांग्रेसी गढ’ हो । विगत निर्वाचनको परिणामले यही देखाउँछ । एमालेका जनप्रिय नेता मदन भण्डारीले २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी काठमाडौैंमा ‘लालझण्डा’ फहराएका थिए । तत्कालीन पाँच वटा निर्वाचन क्षेत्रमध्ये दुईबाहेक सबै चार निर्वाचन क्षेत्रमा एमालेले जितेको थियो । भण्डारी एक र पाँच नम्बर क्षेत्रबाट विजयी भए । यो निर्वाचनले एमाले काठमाडौंमा एक नम्बर पार्टी भयो ।

०४९ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा भने एमालेले संसदीय निर्वाचनको साख जोगाउन सकेन । कांग्रेसले वर्चश्व कायम गर्दै पीएल सिंह प्रमुख र नवीन्द्रराज जोशी उपप्रमुखमा जित हासिल गर्‍यो । ०५४ को स्थानीय निर्वाचनमा एमालेको देशैभरि लहर चल्यो । अघिल्लो स्थानीय निकायको बदला लिँदै प्रमुख र उपप्रमुख जितेर एमालेले काठमाडौंमा पुनः आफ्नो झण्डा गाड्यो । ०४९ मा उपप्रमुखमा पराजित केशव स्थापित कांग्रेसभन्दा झण्डै दोब्बर मत ल्याएर प्रमुखमा विजयी भए । उपप्रमुखमा एमालेकै विदुर मैनाली विजयी भए । यो निर्वाचनमा तेस्रोमा राप्रपाका नरेशवीर शाक्य थिए । सोही वर्षको जिविसमा पनि एमालेका सानु श्रेष्ठ सभापति र रामेश्वर फुँयाल उपसभापति भए ।

तर, ०६४ को ऐतिहासिक संविधानसभाको निर्वाचनमा काठमाडौंका १० निर्वाचन क्षेत्रमा एउटामा पनि एमालेले जित्न सकेन । ६ स्थानमा कांग्रेसले र चार स्थानमा माओवादीले जित्यो । ०७० सालको निर्वाचनमा कांग्रेसले साख मात्र जोगाएन । उप–निर्वाचनसमेत जोड्दा दुई सिट संख्या थपेर आठ पुर्‍यायो । तीन क्षेत्र जितेको एमालेले उप–निर्वाचनमा एक क्षेत्र गुमायो । त्यो पनि कांग्रेसकै पोल्टामा पुग्यो । दुई वटा संविधानसभाको निर्वाचनको परिणामलाई आधार मान्दा काठमाडौं जिल्लामा काँग्रेस एक नम्बर, एमाले दुई नम्बर, माओवादी केन्द्र तीन नम्बर र राप्रपा चार नम्बरमा पर्छ । संविधानसभाको समानुपातिकमा भने राप्रपा (तत्कालीन राप्रपा नेपाल) एक नम्बरमा रह्यो ।

३१ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा कांग्रेसबाट राजुराज जोशी, एमालेबाट विद्यासुन्दर शाक्य र माओवादी केन्द्रबाट सर्वोत्तममान डंगोल उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा छ । काठमाडौं कांग्रेसका नेता जोशी उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाइ हुन् । उनलाई महानगरमा बलिया उम्मेदवारका रूपमा हेरिएको छ । राप्रपासँगको गठबन्धनकै कारण एमालेका शाक्यलाई पनि कम आ“क्न नमिल्ने तर्क अर्को कोणबाट गरिएको छ ।

त्यसो त, माओवादीका डंगोल पनि पाका स्थानीय नेता हुन् । उनी दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंबाटै उम्मेदवार बनेका थिए । प्रमुखमा नयाँशक्ति/फोरम नेपालका पवित्र बज्राचार्य, साझा पार्टीका किशोर थापा र विवेकशील नेपालीकी रञ्जु दर्शनाको मतले कुन दललाई प्रभाव पार्छन् ? त्यसले निर्वाचन परिणामलाई प्रभावित पार्न सक्ने विश्लेषण हुने गरेको छ ।

पवित्रले स्थानीय नेवार समुदायको, रञ्जुले युवाको र किशोरले प्रशासनिक क्षेत्रको मत तलमाथि पार्न सक्ने देखिन्छ । बज्राचार्य दोस्रो संविधानसभा निर्वाचनका उम्मेदवार हुन् । राजनीतिक विश्लेषक प्रा.सुरेन्द्र केसी प्रमुख दलबीच हुने प्रतिस्पर्धामा नयाँ दलले खासै प्रभाव नपार्ने दाबी गर्छन् । उपप्रमुखमा पनि कांग्रेसकी हरिप्रभा खड्का, राप्रपाका राजाराम श्रेष्ठ, माओवादी केन्द्रका सुशीला पौडेलबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । गठबन्धनका कारण राप्रपाका श्रेष्ठ बलियो उम्मेदवार बनेका छन् ।

उनी दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ मा सभासद्को उम्मेदवार बनेका थिए । एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल एमाले–राप्रपा गठबन्धनबीचको चुनावी तालमेल दुवै पार्टीका लागि लाभदायी भएको ठान्छन् । राष्ट्रियताको मुद्दादेखि प्रधानन्यायाधीश प्रकरणमा दुवै दलको मत मिलेकाले गठबन्धनमा कुनै समस्या नभएको दाबी गर्छन् । ‘०५४ सालको स्थानीय निकायको निर्वाचनभन्दा फराकिलो परिणाम आउँछ,’ उनी भन्छन्, ‘काठमाडौं महानगर बनाउन पार्टीभित्र सबै एक ढिक्का भएर लागेका छौँ ।’ तर, कांग्रेस उम्मेदवार जोशी जितप्रति आशावादी छन् । भन्छन्, ‘काठमाडौंमा कांग्रेसको पकड बलियो छ । हामी ठूलो मतान्तरले जित्छौँ ।’

गढ प्रतिरक्षामा कम्युनिस्ट

उपत्यकाको अर्को जिल्ला ललितपुरलाई ‘कम्युनिस्ट गढ’ मानिन्छ । हरेक निर्वाचनमा कांग्रेसले गढ भत्काउने र कम्युनिस्टले रक्षा गर्ने जोड चलिरहन्छ । ०४८ सालको संसदीय निर्वाचनमा एमालेले दुई वटा र संयुक्त जनमोर्चाले एक निर्वाचन क्षेत्र जितेको थियो । ०४९ को स्थानीय निकाय निर्वाचनमा भने कांग्रेसमा वेशारत्न शाक्य र चन्द्र महर्जन प्रमुख र उपप्रमुखमा निर्वाचित भए । यो निर्वाचनमा दोस्रो स्थानमै चित्त बुझाउनुपरेको एमालेले ०५४ सालको स्थानीय निकायको निर्वाचनमा प्रमुखमा बुद्धिराम बज्राचार्य र उपप्रमुखमा रमेश चित्रकारलाई जिताएर ललितपुर नगरलाई आफ्नो पोल्टामा पार्‍यो । भर्खरै शान्ति प्रक्रियामा आएको माओवादीको प्रभाव पहिलो संविधानसभाको निर्वाचनमा देशैभरि परेको थियो ।

प्रमुख दल कांग्रेस, एमाले र माओवादीबीच हुने प्रतिस्पर्धामा नयाँ दलले खासै प्रभाव पार्दैन। प्रा. सुरेन्द्र केसी राजनीतिक विश्लेषक

ललितपुरका तीन वटै निर्वाचन क्षेत्रमा उसले कब्जा जमायो । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसले कब्जा जमायो । आगामी स्थानीय निर्वाचनमा भने ललितपुर महानगरपालिकामा प्रमुख कांग्रेसका चिरिबाबु महर्जन, एमालेका हरिकृष्ण व्यञ्जनकार, माओवादी केन्द्रका दिनेश महर्जन ‘दिपेश’बीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । उपप्रमुखमा पनि यिनै पार्टीबीच त्रिपक्षीय टक्कर छ । उपप्रमुखमा कांग्रेसबाट गीता सत्याल, एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका बाबुकाजी थापा र माओवादीबाट हसिना शाक्य उम्मेदवार छन् ।

एमालेले राप्रपासँग गठबन्धन गरेकाले बलियो देखिन्छ । प्रमुखमा व्यञ्जनकारलाई सघाउने राप्रपाले उपप्रमुखमा बाबुकाजी थापालाई उम्मेदवार बनाएको छ । कांग्रेस र माओवादीबीच तालमेल गर्ने भनिए पनि अन्तिम समयमा भाँडिएको थियो । माओवादी प्रवक्ता पम्फा भुसाल तालमेलबिना नै पार्टी बलियो भएको दाबी गर्छिन् ।

एमाले–कांग्रेस भिडन्त

कास्की एमाले र कांग्रेस बाहुल्य क्षेत्र हो । ०४८ को संसदीय निर्वाचनमा तीन क्षेत्रमध्ये दुईमा एमाले र एउटा कांग्रेसले जितेको थियो । ०४९ स्थानीय निकाय निर्वाचनमा कांग्रेसबाट प्रमुख र उपप्रमुख क्रमशः भोला थापा र किमबहादुर गुरुङ विजयी भएका थिए । अहिले महानगर बनेपछि थपिएका तत्कालीन गाविसमध्ये लेखनाथ, मोजा, चापाकोट, भदौरे तामागी, माझठानामा कांग्रेसले जितेको थियो भने कास्कीकोट, कालिका र पुरञ्चोर एमालेको बाहुल्यता थियो ।०५४ सालको स्थानीय निर्वाचनमा एमाले लहरबाट पोखरा पनि अछुतो भएन ।

पोखरा नगर प्रमुखमा एमालेका कृष्णबहादुर थापा र उपप्रमुखमा एमालेकै मानबहादुर गुरुङ विजयी भए । अहिले महानगर बनेपछि थपिएका तत्कालीन गाविस लेखनाथ, मोजा, चापाकोट, कास्कीकोट, पुरञ्चोरमा एमालेले अध्यक्ष, उपाध्यक्षसहित बहुमत ल्याएको थियो । मझठाना र कालीकामा मात्र कांग्रेस अध्यक्ष उपाध्यक्षसहित बहुमत ल्याएको थियो । भदौरे तामागीमा स्वतन्त्र उम्मेदवार अध्यक्ष भएका थिए ।०६४ सालको संविधानसभाको निर्वाचनमा कास्कीका चारमध्ये तीनमा माओवादी र एउटा मात्र एमालेले जित्यो । कांग्रेस शून्यमा झर्‍यो । ०७० सालको दोस्रो संविधानसभामा एक र दुईबाट कांग्रेस, तीन र चारबाट एमालेले जितेको थियो ।

यी परिणामले पोखरामा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भएको आंकलन गर्न सकिन्छ । प्रमुखमा कांग्रेसका उम्मेदवार रामजी कुँवर र एमालेका मानबहादुर जीसीबीचको समानता भनेको दुवै इमान्दार छविका नेता हुनु हो । एमालेका जीसीको राजनीति र कुँवरको राजनीति प्रवेश एकै समयमा भएको हो । जीसी भने पार्टीको मूलधारको राजनीतिमा सक्रिय रहे । कुँवर कांग्रेसको मूलधारको राजनीतिमा भने उनको सक्रियता रहेनन्, ३६ सालदेखि नै उनी उक्त युनियनमा नियमित छन् । जीसी ०५४ मा कालिकाका गाविसअध्यक्ष भएका थिए ।

माओवादी केन्द्र र कांग्रेसबीच केन्द्रमा भएको सहमतिअनुसार पोखरामा माओवादीले प्रमुखमा उम्मेदवारी फिर्ता गरी कांग्रेसका कुँवरलाई सघाएको छ । यस अर्थमा कुँवर बलिया उम्मेदवार मानिन्छन् । कांग्रेसको व्यवस्थापन कमजोर रहेको वडाका उम्मेदवारले मात्रै धानेको र एमालेमा भने गुट हाबी भएको विश्लेषकको ठम्याइ छ ।

प्रचण्ड प्रतिष्ठा

चितवन प्रधानमन्त्री पुष्पकमल दाहालको गृह जिल्ला हो । ०४८ सालको संसदीय निर्वाचनमा एमाले, कांग्रेस प्रजातान्त्रिक र संयुक्त जनमोर्चाले एक÷एक सिटमा जितेका थिए । ०४९ को स्थानीय निर्वाचनमा भने भरतपुर नगरपालिकामा कांग्रेसका भक्तिलाल चुके र उपप्रमुखमा कांग्रेसकै जगन्नाथ पौडेल निर्वाचित भए । ०५४ को स्थानीय निर्वाचनमा भने भरतपुरको प्रमुख र उपप्रमुखमा एमालेले कब्जा जमायो । एमालेका हिमबहादुर पिया र देवी ज्ञवाली विजयी भए । तिनै उपप्रमुख ज्ञवाली अहिले एमालेबाट प्रमुखका उम्मेदवार बनेका छन् ।

०६४ को संविधानसभा निर्वाचनमा चितवनबाट तीन निर्वाचन क्षेत्र माओवादी, एक–एक वटा एमाले र जनमोर्चाले जितेको थियो । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले र कांग्रेसले २/२ र राप्रपाले एउटा निर्वाचनमा विजय हासिल गरेको थियो । अहिले चितवनको भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा कांग्रेस–माओवादी केन्द्र गठबन्धन र एमालेका उम्मेदवारबीच कडा टक्कर हुने देखिएको छ । गठबन्धनबाट प्रमुखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल (माओवादी केन्द्र) र उपप्रमुख पार्वती शाह (कांग्रेस) उम्मेदवार बनेका छन् । गठबन्धनको चितवन कांग्रेसले संस्थागत रूपमा विरोध गरे पनि त्यसको भोलिपल्ट संयुक्त पत्रकार सम्मेलन गर्नुपरेको थियो ।

इमानदारितापूर्वक मतदान भएमा सत्ता गठबन्धनका दुवै उम्मेदवार बलिया छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का चितवन जिल्ला संयोजक बालकृष्ण पौडेल विगतका चुनावी अभ्यास र नतिजामा कांग्रेसको अग्रता भएकाले गठबन्धनलाई बलियो ठान्छन् । ‘संविधानसभा निर्वाचनमा कांग्रेसले लगातार दुई पटक जितेको चार नम्बर क्षेत्र महानगरभित्रै रहेकोले कांग्रेस बलियो छ । गठबन्धन हुँदा झन् बलियो भएको छ,’ उनले भने । एमालेले नगरका पूर्वउपप्रमुख देवी ज्ञवालीलाई उम्मेदवार बनाएकाले उनी पनि अर्का बलिया उम्मेदवार हुन् । गठबन्धनभित्रको असन्तुष्ट पक्षको मतमा उनले चलखेल गर्ने सम्भावना छ । त्यसैले नेका–माके गठबन्धन र एमालेबीच कडा टक्कर देखिन्छ । तेस्रो स्थानमा भने राप्रपा पनि छ ।

माओवादी–एमाले प्रतिस्पर्धा

राप्रपा अध्यक्ष कमल थापाको गृह जिल्ला हो, मकवानपुर । ०४९ सालको स्थानीय निर्वाचनमा हेटौंडा नगरपालिकाको प्रमुखमा एमालेका डोरमणि पौडेल विजयी भएका थिए । एमालेकैै हरिबहादुर महत ३० वर्षमै उपप्रमुख निर्वाचित भएका थिए । ०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेले प्रमुखमा पौडेल र उपप्रमुखमा महतलाई दोहो¥यायो । उनीहरूले पनि जितको साख जोगाए । तिनै महत अहिले एमालेबाट नगरप्रमुखको उम्मेदवार बनेका छन् । ०६४ को संविधानसभा निर्वाचनमा भने चार वटै निर्वाचन क्षेत्रमा माओवादीले कब्जा जमायो ।

०७० को दास्रो संविधानसभा निर्वाचनमा भने एमालेले तीन र कांग्रेसले एक सिट जित्यो । अहिलेको स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकामा एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । दुई पार्टीबीच कडा प्रतिस्पर्धा हुँदा तेस्रो शक्ति राप्रपा अर्को प्रतिस्पर्धी बनेर त्रिपक्षीय भिडन्त हुने आकलन गरिएको छ । दुई पटक प्रमुख र उपप्रमुख जितेको एमालेलाई साख जोगाउने मुख्य चुनौती छ । किनभने नगरमा कांग्रेस–माओवादीबीच तालमेल भएको छ । प्रमुखमा कांग्रेसका आनन्दराम पराजुली र उपप्रमुखमा माओवादी केन्द्र बलराम बल उम्मेदवार छन् । पराजुली भन्छन्, ‘तालमेलबाट कार्यकता र जनतामा उत्साह छाएको छ ।

अन्य पार्टीहरू आत्तिएका छन् ।’ तर, राजनीतिक विश्लेषक नवराज शर्मा कांग्रेस, माओवादी केन्द्रले भनेजस्तो सजिलै सकारात्मक परिणाम आउने देख्दैनन् । ‘केही कार्यकर्ता र शुभेच्छुकहरू पनि यो तालमेलबाट असन्तुष्ट छन्,’ उनले भने, ‘आफ्ना मतदातालाई भोट क्रस गरेर हाल्न नसिकाए धेरै मत बदर हुने सम्भावना छ ।’ कांग्रेस–माओवादी गठबन्धनले कुनै फरक नपार्ने एमालेको दाबी छ । ‘हामी थप बलियो भएका छौँ,’ एमाले प्रमुखका उम्मेदवार हरिबहादुर महत भन्छन्, ‘गठबन्धनका असन्तुष्टहरूले मात्र मत नहाल्ने हो भने पनि हामी सहजै जित्छौँ ।’ चुनाव जित्नका लागि एमालेको संगठित मतसँगै लोकप्रिय मतको आवश्यकता रहेको विश्लेषक शर्मा बताउँछन् ।

कांग्रेस–माओवादी गठबन्धन र एमालेसँगै राप्रपाले च्याखे थापेर बसेको छ । राप्रपा प्रमुखका उम्मेदवार मधु अधिकारी ‘कसैसँग तालमेल नगर्दा पनि बलियो’ भएको दाबी गर्छन् । उपमहानगरमा नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरमको गठबन्धन र नेकपा मालेको मत निर्णायक हुन सक्छ ।

स्वार्थको गठबन्धन

परिणामलाई आफ्नो पोल्टामा पार्न प्रमुख दलले गठबन्धन गरेका छन् । स्थानीय निकायको निर्वाचनमा सशस्त्र द्वन्द्वका दुई पक्ष कांग्रेस र माओवादी, खाँटी गणतन्त्रवादी एमाले र राजावादी राप्रपाबीचको गठबन्धनलाई विश्लेषकहरू ‘अपवित्र गठबन्धन’ को संज्ञा दिन्छन् । ‘केन्द्रीय तालमेल स्थानीयस्तरमा लागु हुँदैन । स्थानीय तालमेल नै गर्नुपर्छ,’ सुशासन विज्ञ डा.खिमलाल देवकोटाले अन्नपूर्ण टुडेसँग भने, ‘यो मुद्दाको गठबन्धन होइन, सत्ता स्वार्थको गठबन्धन हो । यो तत्कालीन र क्षणिक हो ।’

उनी यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुने देख्छन् । भन्छन्, ‘परम्परागत शक्ति नै अगाडि हुन्छन् । वर्षांैको त्याग र लगानी छ । ‘नेपालमा जसलाई राजनीति भनेका छन् । त्यसलाई धन्दाजस्तो, व्यवसायजस्तो, पेसाजस्तोको रूपमा लिएका छन् । यही जथाभावीको गठबन्धन हो,’ प्रा.केसी भन्छन्, ‘यस्ता गठबन्धनले लोकतन्त्र संस्थागत हुँदैन । राजनीतिले जे सेवा गर्नुपर्ने हो, जनमानसमा त्यो सेवा पुग्दैन । अनास्था, अस्तव्यवस्तता, अराजकतातर्फ धकेल्छ । मुलुक गन्तव्यमा जाँदैन ।’(केशवशरण लामिछाने /पोखरा, सूर्यप्रकाश कँडेल/चितवन कृष्ण सारुमगर/मकवानपुर को सहयोगमा ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button