नेपालको तरकारी कतार आउन थाल्यो

नेपालको तरकारी कतार निर्यात हुन थालेको छ । नेपालको पहाडी भूभागमा उत्पादित स्थानीय स्वादका बिषादी रहित मौसम अनुसारको तरकारी र फलफूलहरु केही दिन अघि देखी कतार आउन थालेको हो ।

तितेकरेला, परबल, फर्सी, हरियो खुर्सानी, अकबरे खुर्सानी, तोरी, मुला, रायोको गुन्द्रुक, सिन्की, मस्यौरा, जंगली निउरो, नेपाली माल्दा आप, लिची, फर्सीको मुन्टा, रामतोरिया, मुला, काक्रो ,खाद्य मसला,अचार लगायतका सामान पहिलो पटक कतार भित्रिएको हो । कतार आयात भएका तरकारीहरु हाललाई सनैया स्थित सफारी मल, ग्रान्ड मल र नज्मा स्थित सम्पूर्ण सुपर मार्केटहरुमा उपलब्ध रहेको छ।

नेपालबाट विभिन्न कृषि सहकारी मार्फत सिधै कृषकको फार्म सम्म सम्पर्क गरि तरकारी तथा फलफूलको व्यवस्थापन गर्ने कम्पनी एग्रिकल्चर नेपाल र कतारस्थित अल समान ग्लोबल ट्रेडिङ्को सहकार्यमा तरकारी निर्यात हुन थालेको हो । हाल हवाई मार्गबाट ल्याउनु पर्ने भएकाले त्यसै अनुरुप न्युनतम दरमा नेपाली कृषिलाई प्रोत्साहन गर्ने गरि निर्यात गरिने कम्पनीले बताएको छ ।
हाल सम्म नेपाल सरकारबाट यस बिषयमा कुनै सहयोग सम्म नपाएको र सबै व्यक्तिगत प्रयासमा काम थालिएको कम्पनीका प्रतिनिधि ईश्वर गुरुङले बताएका छन् । कमसेकम तरकारी पठाउने दिन भन्सार, प्लान्ट क्वारेनटैन लगायत सरकारी निकायबाट झन्झट रहित सुबिधा दिने हो भने केहि सहज हुने उनको भनाई रहेको छ ।