सक्रिय हुँदै दूतावास

नेपाली राजदूतावास, दोहाको आयोजनामा गत शुक्रबार नेपाल सरकारलाई सारपूर्ण सुझाव दिने उद्देश्यका साथ कतारस्थित नेपाली समुदाय एवं संघसंस्थारुसंग पाँचौं अन्तर्क्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली राजदूतावासले नियमित रुपमा समपन्न गरेको कार्यहरुको जानकारी गराइनुको साथै नेपाली राजदूतावास लगायत नेपाल सरकारका सम्बन्धित निकायहरुबाट श्रम व्यवस्थापन, श्रमिकहरुको हक हित, सुरक्षा सुनिश्चितता र कल्याणकारी कार्य प्रवर्द्धन गर्नका लागि अवलम्वन गर्नुपर्ने नीतिगत, प्रकृयागत तथा व्यावहारिक पक्षहरुका बारेमा कतारमा अवस्थित नेपाली समुदाय, संघ संस्था, कामदारहरु लगायतका महानुभावहरुसँग राय सुझाव लिने उद्देश्य अनुरुप उक्त अन्तरक्रियात्मक छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाली राजदूतावासको नियमित सेवा प्रवाह सम्बन्धी विवरण, कूटनीतिक भेटघाट एवम् छलफलका बूँदाहरु, श्रमिक समस्या समाधानार्थ भावी कार्ययोजना र श्रमिक हितलाई मध्यनजर गरी राजदूतावासमा गरिएका सुधार कार्यहरु सम्बन्धमा छुट्टाछुट्टै प्रस्तुतिकरण गरिएको थियो ।कार्यक्रममा राजदूतावासको प्रस्तुतीकरण पश्चात् सहभागीहरुका विभिन्न प्रश्न तथा जिज्ञासाहरुलाई राजदूतावासको तर्फबाट जवाफ तथा जानकारी उपलब्ध गराइएको थियो ।
कार्यक्रममा आफ्ना सुझावहरु राख्दै सहभागीहरुले कतारमा नेपाली कामदार ल्याउनको लागि मागपत्र राजदूतावासबाट प्रमाणिकरण हुनुपर्ने र पुनः श्रम स्वीकृति राजदूतावासबाटै तत्कालै गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएका थिए । साथै, कम्पनीकै वर्किङ्ग भिसामा कतार आउने भएता पनि तथाकथित हुदै नभएको ‘आजाद भिसा’ को नामबाट सिर्जना भएको समस्याहरु चुनौतीको रुपमा देखा परेकोले राजदूतावास, नेपाली समुदाय र नेपाल सरकारका सम्बद्ध निकायहरुबीचको सहकार्यमा जोड दिनुपर्ने र नेपाल सरकारको तर्फबाट उक्त कार्यमा संलग्न व्यक्ति तथा संस्थालाई यथासीघ्र कारवाही गरी उनीहरुबाट पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने र आगामी दिनमा यस्ता कार्यहरु पूर्ण रुपमा बन्द गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव प्राप्त हुन आएको थियो । कतारमा नेपाली समुदायको हित तथा कल्याणकारी कार्य प्रवर्द्धनका लागि नेपाल हाउस (साँस्कृतिक केन्द्र), नेपाली विद्यालय, श्रमिक सचेतना रेडियो कार्यक्रम तथा कामदारलाई कार्यस्थलमै तालिम/अभिमुखिकरणको व्यवस्था मिलाउने सम्बन्धमा अबिलम्ब कारवाही अगाडी बढाउनुपर्ने आवश्यक रहेको कुरामा समेत जोड दिइएको थियो ।यसैगरी द्विपक्षीय लगानी सम्झौता गरी वैदेशिक लगानी प्रवर्द्धन गर्नुपर्ने, नेपालमा कतारी सहयोगका संभाव्य क्षेत्रहरुको पहिचान गरी उक्त क्षेत्रहरुमा सहयोग प्राप्तिमा जोड दिनुपर्ने, एवम् राजदूतावास र नेपाल सरकारका निकायहरु, विशेष गरी वैदेशिक रोजगार विभाग, बीच डिजिटल लिंकेज गराइनुपर्ने लगायतका सुझावहरु समेत प्राप्त भएको थियो । सो कुराहरुका अतिरिक्त सहभागीहरुबाट प्राप्त भएका अन्य सुझावहरु अनुसार शीघ्र कारवाही हुने व्यवस्थाका लागि राजदूतावासले नेपाल सरकारका सम्बन्धित निकायहरुमा अनुरोध गर्ने जानकारी राजदूतावासको तर्फबाट उपलब्ध गराइएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै कतारका लागि नेपाली राजदूत महामहिम राजदूत प्रा रमेश प्रसाद कोइरालाले उक्त कार्यक्रममा उपस्थित भई आफ्नो जिज्ञासा तथा सुझाव राखिदिएकोमा सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले वैदेशिक रोजगारका विभिन्न जटिलताहरु नीतिगत तहबाट नै सम्बोधन हुने क्रममा रहेको जानकारी दिनुहुँदै कार्यक्रमका सहभागीहरुबाट दिइएका सुझाव कार्यान्वयनका लागि नेपाल र कतारका सम्वन्धित विभिन्न निकायहरुसँग राजदूतावासले समन्वय गरी आवश्यक कार्यहरू गर्ने बताउनुभयो । श्रमिक समस्यालाई मध्यनजर गरी नेपाल तथा कतार सरकारबाट अवलम्वन गरेका सुधार कार्यहरुले आगामी दिनहरूमा कामदारका समस्या समाधानमा थप सहजता ल्याउने बताउँदै उहाँले कतारमा रहेका नेपालीहरुको समस्या समाधानका लागि थप प्रभावकारी उपायहरू अवलम्वन गरिने बताउनुभयो । उपलब्ध स्रोत-साधनको समुचित तथा उच्च प्रतिफल प्राप्त गर्ने कार्यकासाथ कतारमा काम गर्ने नेपाली श्रमिक एवम् समुदायको हकहित संरक्षण, सुरक्षा, समस्या समाधान एवम् कल्याणकारी कार्यहरूको प्रवर्द्धनका लागि निरन्तर लागिरहेको बताउँदै वहाँले यसका लागि नेपाली समुदायको निरन्तर पृष्ठपोषण पनि आवश्यक रहने जानकारी दिनुभयो । साथै, कार्यक्रमको अर्को संस्करणमा पुनः भेट हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।