सगरमाथा चढ्ने कतारीलाई दूतावासको सम्मान

कतारस्थित नेपाली राजदूतावासले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने कतारी नागरिक लाई सम्मान गरेकोे छ । दूतावासले कतारी नागरिक फाहाद बादर लाई हिजो राजदूतावासमा आमन्त्रण गरी सम्मान गरेकोे हो । फाहादले मे महिनामा सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरेका थिए ।

सगरमाथा आरोहण गर्ने दोश्रो कतारी नागरिक र एकै यात्रामा सगरमाथा तथा ल्होत्से हिमाल आरोहण गर्ने पहिलो अरब नागरिक भएकोमा उनलाई राजदूतावासको तर्फबाट सम्मानस्वरुप दोसल्ला ओढाई बधाई ज्ञापन गरिएको थियो।
फाहादलाई बधाई तथा सम्मान व्यक्त गर्दै कार्यवाहक राजदूत लक्ष्मण खनालले नेपाल र कतारबीच जनस्तरमा रहेको मैत्रीपूर्ण सम्बन्धका बारेमा चर्चा गर्नुभयो । फाहादले नेपाललाई आफ्नो दोश्रो घर भएको बताउँदै सगरमाथा आरोहणको सुखद अनुभव बाँडेका थिए । नेपालको अथाह पर्यटकीय सम्भावनाबाट आफू प्रभावित भएको उनले बताए । कार्यक्रममा नेपालको पर्यटन सम्भावनालाई प्रवर्धन गर्न आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल पनि भएको छ ।

सन २०१३ मा कतारी नागरिक शेख मोहम्मद अल थानीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो कतारी नागरिक बनेका थिए ।