आज कतारमा पनि हुनेछ खण्डग्रास चन्द्रग्रहण

आज पूर्णिमाको दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण अन्य देश सगै कतारमा पनि लाग्दैछ । ग्रहणले आज राति ११:०१ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्नेछ । बुधवार बिहान १२:३० बजे ग्रहणको मध्यकाल हुनेछ । बिहान २ बजे मा मोक्षकाल अर्थात् ग्रहण सकिनेछ ।
यदी तपाईं सनातन धर्ममा विश्वाश राख्नुहुन्छ भने उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्न नहुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।
कर्कट, तुला, कुम्भ र मीन राशि भएकाहरुले भने ग्रहण हेर्नु हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकका नदी, ताल, तलाउ, पोखरी र सम्भव नभए घरमै स्नान गर्नुपर्ने ‘निर्णयसिन्धु’, ‘हेमाद्रि’ ‘कालमाधव’, ‘वीरमित्रोदय’ लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले बताउनुभयो । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । असार ३१ गते अपराह्न ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यतानुसार भोजन निषेध गरिएको छ ।
मङ्गलबार राति ११:०१ बजे शुरु हुने खण्डग्रास ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा राति १२:३० बढी ढाक्नेछ । पूरै ढाक्ने भएको भए यसलाई खग्रास भनिन्थ्यो । अवलोकनकर्ताले ११:०१ बजेदेखि दुई घण्टा ५८ मिनेटसम्म अर्थात् बिहान २ बजेसम्म चन्द्रमाको केही भागलाई तामा रङमा देख्न सक्नेछन् । यस अवधिलाई नै खण्डग्रास चन्द्रग्रहण भनिन्छ ।
सूतक समयः
शास्त्रले बताए अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टापूर्व सूतक प्रारम्भ हुन्छ । त्यसैले आज दिउँसो दुई बजेर १ मिनेटदेखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशिल प्राणिहरूलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भूट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध हन्छ ।
यदी तपाईं सुतक बार्नु हुन्छ भने दिउँसो २ बजे देखी सुतक लाग्नेछ ।
ग्रहण कतार लगायत भारत, नेपाल, चीन, मङ्गोलिया, जापान, रुस तथा अफ्रिका, दक्षिण अमेरिका, युरोप र अष्ट्रेलिया महादेशबाट देख्न सकिन्छ । क्यानडा तथा उत्तर अमेरिकामा बसोबास गर्ने मानिसले ग्रहणको अनुभव लिन पाउनेछैनन् ।
सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणलाई आँखाभित्र पस्न नदिन विभिन्न सावधानी अपनाइन्छ । चन्द्रग्रहण जो कोहीले पनि नाङ्गो आँखाले सजिलै हेर्न सक्छन् । चन्द्रग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामग्रीले हेर्दा केही असर गर्दैन । चन्द्रग्रहणमा आँखालाई हानिनोक्सानी पु¥याउने खालका किरण आएका हुँदैनन् ।