भारतले कतारलाई बराबरीमा रोक्यो

भारतले एसियन च्याम्पियन कतारलाई बराबरीमा रोकेको छ । चीनमा आयोजना हुने २०२३ एसियन कप च्याम्पियनसीप र कतार फिफा विश्वकप २०२२ प्रतियोगिताको संयुक्त छनौटका लागि आफ्नो दोस्रो खेलमा कतार र भारत बीचको खेल गोल रहित बराबरीमा टुंगिएको छ । आयोजक राष्ट्रको हिसाबले कतार २०२२ विश्वकपको लागि छनौट भइसकेको छ ।
पुरै खेलमा कतारी पक्षको दबदबा रहेको थियो । खेल भरीमा कतार बाट २६ र भारत तर्फ बाट जम्मा २ बल पोस्टमा प्रहार भएको थियो । यद्यपी गोलरक्षक गुरप्रित सन्धुको उत्कृष्ट प्रदर्शन हुँदा कतारी खेलाडीहरूको केही लागेन । हिजोको खेलमा भारतीय कप्तान सुनील क्षेत्री ज्वरोको कारण मैदानमा देखिएनन ।
यसअघिको पहिलो खेलमा कतारले अफगानिस्तानलाई ६ – ० ले पराजित गरेकोे थियो । यता भारत भने ओमानसँग २ – १ ले हारेको छ ।
समूह ‘ ई ‘ मा कतार सँगै भारत , अफगानिस्तान , बंगलादेश र ओमान रहेको छ ।