अल बायत रंगशालाको निमार्ण अन्तिम चरणमा

कतारले सन् २०२२ मा आयोजना गर्ने फिफा विश्वकपका लागि चौथो रंगशाला अल बायतको निमार्ण अन्तिम चरणमा पुगेको सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसी (एससी) ले जनाएको छ ।
टेन्ट आकारको रंगशालाको छत तयार भइसकेको छ । स्थानीय कम्पनी कोस्टल कतारले तयार पारेको ६० हजार सीट जडान गरिएको छ । रंगशालाको भित्री कलात्मक सजावट अन्तिम चरणमा छ भने खेलाडीहरु मैदानमा आउने टनेल पनि तयार भइसकेको छ । त्यस्तै रंगशालाको बाहिरी भागमा घाँस तथा रुख रोप्ने काम पनि सकिसकेको र साना ताल र पानीको फोहोरा पनि निर्माण गरिएको एससीले बताएको छ ।

दोहा देखी ३५ किलोमिटर उत्तर तर्फको अल खोरमा सहरमा रहेको अल बेयत रंगशालाको निमार्ण सन् २०१४ देखी सुरु गरिएको थियो । विश्वकप २०२२ प्रतियोगिताको सेमिफाइनल खेल सम्म आयोजना हुने यस रंगशालाको दर्शक सीट क्षमता जम्मा ६० हजार रहेको छ । अरबिक भाषा बेयत ‘अल शार’ अर्थात कतारको इतिहास देखी प्रयोग हुँदै आइरहेको टेन्ट आकारमा यस रंगशालाको निर्माण हुँदैछ । विश्वकप पश्चात यसको आधा सीट फुटबल प्रेमी विकासउन्मुख देशलाई प्रदान गरिनेछ । यसमा उच्चस्तरीय सुट , पाँच तारे होटेल र मैदान देखिने बाल्कोनी युक्त कोठा पनि समावेश हुनेछ ।
रंगशाला यसै वर्ष उद्घाटन गर्ने अपेक्षा गरिएको छ । यो भन्दा अगाडी खलिफा अन्तर्राष्ट्रिय र अल जनौब (वक्रा) रंगशालाको उद्घाटन भइसकेको छ भने एडुकेसन सिटी रंगशाला डिसेम्बर १८ मा उद्घाटन गर्ने तय भएको छ ।