आफ्नो विवरण सरकारलाई बुझाउनु पर्ने कानून आउँदै

आफ्नो विवरण कतार सरकारलाई बुझाउनुपर्ने कानून लागू हुने भएको छ । राष्ट्रिय ठेगाना कानून (२०१७ को कानून नम्बर २४) लागू गर्न प्रक्रिया तथा तयारी सकिएको र यो चाडैं लागू हुने आन्तरिक मन्त्रालयले जनाएको छ ।
कागजी ठेगाना प्रणालीलाई डिजिटल प्रविधीमा लग्दै विधुतिय सरकारको विकास गर्न यस कानूनको मुख्य रणनीति रहेको मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ ।
सार्वजनिक सुरक्षा अन्तर्गतको राष्ट्रिय ठेगाना विभागका प्रमुख कर्नेल अब्दुल्ला जाएद अल सह्लीले ठेगाना रजिस्टर गर्ने प्रक्रिया निकै सजिलो हुने बताएका छन् । कतारमा रहेका सम्पुर्ण नागरिक तथा आप्रवासीले आफ्नो हालको ठेगाना ,फोन नम्बर,ईमेल ,रोजगारदाताको ठेगाना र आफ्नो स्थायी ठेगाना सरकारलाई बुझाउनु पर्नेछ ।

आफ्नो विवरण कसरी बुझाउने ?
कानून लागू भएपछि सरकारलाई आफ्नो विवरण मोबाईल मार्फत मेट्राश २ एप वा नजिकैको आन्तरिक मन्त्रालयको सेवा कार्यालयमा गएर बुझाउन सकिन्छ । विभाग ओनैजा सेवा कार्यालयमा आधारित हुनेछ । नाबालकको हिसाबमा अभिभावक मध्य कोहि जिम्मेवार बसेर विवरण भर्नुपर्नेछ ।
नबुझाए के हुन्छ ?
कानून लागू भएको ६ महिना भित्र आफ्नो विवरण नबुझाए राष्ट्रिय ठेगाना कानून अन्तर्गत धारा ६ बमोजिम १० हजार रियाल सम्मको जरिवाना हुनसक्नेछ ।