जीसीसी बैठकमा भाग लिन प्रधानमन्त्री साउदी अरेबियामा

क्युएनए
अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख अब्दुलाह बिन नास्सेर बिन खलिफा अल थानी अन्य पदाधिकारीका साथ साउदी अरब प्रस्थान गर्नुभएको छ ।
साउदी अरबको राजधानी रियादमा आज बाट सुरु हुने ४०औं जीसीसी सम्मेलनमा कतारको नेतृत्व गर्दै प्रधानमन्त्री अब्दुलाह त्यसतर्फ प्रस्थान गर्नुभएको हो । बैठकमा साउदी इरानबिचको तनाव संगै खाडी समस्याको बारे छलफल हुने विश्वास गरिएको छ ।

गत हप्ता साउदी अरबियाले कतारको अमिर शेख तमिम बिन हमाद अल थानीलाई गल्फ सहायता काउन्सिल (जीसीसी) सम्मेलनका लागि निम्तो पठाएको थियो। सम्मेलनमा भाग लिन साउदीका राजा सलमानले लिखित पत्र मार्फत जीसीसीका सचिब अब्दुल्लातिफ अल जायनीको हातमा निम्तो पठाएको कतार न्यूज एजेन्सीले जनाएको हो।
जीसीसी ६ खाडी राष्ट्रको संगठित समूह हो । जसमा कतार,साउदी अरेबिया,युएई,बहराइन,ओमान र कुवेत रहेका छन् ।
आतंकवादलाई सहयोग गरेको र आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै साउदी,युएई र बहराइन मिलेर सन् २०१७ को जुन देखि कतारमाथी नाकाबन्दी लगाउदै आइरहेका छन् । कतारले आफुलाई झुठो आरोप लगाएको भन्दै त्यसलाई नकार्दै आइरहेको छ । हाल आएर छिमेकी राष्ट्रहरुको नाकाबन्दीको असर कतारमा न्यून रहेको छ ।