निर्वाचन प्रचारको आज अन्तिम दिन

पहिलो चरणमा हुने नेपालको स्थानीय निर्वाचनका लागि दलहरूले बिहीबार मात्र प्रचारप्रसार गर्न पाउनेछन् । बिहीबार राति १२ बजेपछि ४८ घन्टे मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यो समयमा उम्मेदवारहरूले कुनै प्रचारप्रसार गर्न नपाउने आचारसंहिता छ ।
निर्वाचन आयोगले बिहीबारदेखि नै मतदाता परिचयपत्र वितरण थालेको छ । बिहीबार, शुक्रबार र शनिबार मतदाता परिचयपत्र वितरण हुनेछ । मतदाता परिचयपत्र लिन आफैँ मतदान केन्द्रमा पुग्नुपर्ने व्यवस्था गरिएको छ । पहिलो चरणमा २ सय ८३ स्थानीय तहका ६ हजार ६ सय ४२ वटा मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्न लागिएको हो । परिचयपत्रसँगै मतदाता शिक्षा पनि दिइने र यसका लागि प्रत्येक मतदान केन्द्रमा एक मतदाता शिक्षा स्वयंसेवी पनि खटाइएको आयोगले जनाएको छ ।
दलहरूले आचारसंहिता अक्षरशः पालना गर्ने
प्रमुख दलका नेताहरूले स्थानीय तहको निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने प्रतिबद्धता गरेका छन् । स्थानीय निर्वाचनका क्रममा काठमाडौं, नवलपरासी, दोलखा, रुकुमलगायतका आठ जिल्लामा भएका झडपका घटनापछि आयोगले दलहरूलाई बोलाएर प्रतिबद्धता गराएको हो ।
आयोगले बुधबार प्रमुख दलका नेताहरूलाई आयोगमा बोलाएको थियो । आयोगमा उपस्थिति भएर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता सुवास नेम्वाङ, राप्रपा नेता बुद्धिमान तामाङ, नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायतका नेताहरूले आचारसंहिता पालना गर्ने प्रतिबद्धता गरेका हुन् ।
आयोगका अनुसार दोलखाको गौरीशंकर गाउँपालिकामा एमाले र माओवादीको झडपमा एमाले कार्यकर्ताको निधन भएको थियो भने रुकुममा कांग्रेस र माओवादीबीच झडप भएको थियो । चितवनमा माओवादी केन्द्रका उम्मेदवारको सवारीसाधनमा आगजनी भएको थियो । गोरखाको लक्ष्मीबजारमा माओवादी केन्द्र र नयाँ शक्तिका कार्यकर्ताबीच झडप भएको थियो ।
आयोगले कार्यकर्तालाई संयमित हुन निर्देशन दिन दलहरूलाई आग्रह गरेको छ । दलका नेता–कार्यकर्ता अनुशासित हुनुपर्ने भन्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले शीर्ष नेताहरूले तत्काल निर्देशन दिनुपर्ने बताएका थिए । उनले दोलखाको घटनाबारे अनुसन्धान गरेर सत्यतथ्य सार्वजनिक गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।
यस्तो छ दलहरूको प्रतिबद्धता
‘निर्वाचन लोकतन्त्रको आधारशीला हो, स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचनले मात्र लोकतन्त्रको सुदृढीकरण तथा शासनको सबलीकरणमार्फत सुशासनमा टेवा पुर्याउँछ भन्ने तथ्यलाई हृदयंगम गर्दै मुलुकमा सम्पन्न गरिने स्थानीय तहको निर्वाचनको सुव्यवस्थापनमा हाम्रो अग्रणी भूमिका रहेको तथ्यलाई आत्मसात् गर्दछौँ । निर्वाचन आयोगले जारी गरी कार्यान्वयनमा ल्याएको निर्वाचन आचारसंहिता २०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ मा उल्लेख भएका आचारसंहिताका बुँदाहरूको अक्षरशः पालनाका लागि हामी प्रतिबद्धता व्यक्त गर्दछौँ । साथै उल्लेखित बुुँदाहरू सरोकारवालाहरूबाट समेत पालना गर्न–गराउन सदैव मन, वचन र कर्मले प्रयत्नशील रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।’
आचारसंहिता उल्लंघन भएको छैन : प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताएका छन् । आचारसंहिता सुरु भएपछि आयोगका स्वीकृतमा मात्रै सरकारले काम गरेको प्रचण्डे दाबी गरे । बुधबार आयोगमा भएको छलफलमा विभिन्न दलका नेताहरूले निर्वाचनमा प्रभाव पार्ने गरी सरकारले निर्णयहरू गरेको आरोप लगाएका थिए । काठमाडौंवरपरको क्षेत्रमा स्मार्ट सिटी बनाउने निर्णय आचारसंहिताविपरीत भएको उनीहरूको आरोप थियो ।
दोस्रो चरणको विवरण खोइ : नेम्वाङ
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनबारे के भइरहेको छ भन्ने विवरण सार्वजनिक नगरेको एमालेका नेता सुवास नेम्वाङले गुनासो गरेका छन् । उनले दोस्रो चरणको निर्वाचनका लागि भएका प्रगति विवरण जानकारी दिन मागसमेत गरे । ‘आचरसंहितामाथि प्रतिबद्धता जनाउन आयोगले बोलाउँदा दोस्रो चरणको निर्वाचनको विवरण बताउन आवश्यक थियो,’ नेम्वाङ भने । उनले दोलखाको गौरीशंकर गाउँपालिकाको घटनामा आयोगको ध्यानाकर्षणसमेत गराएका थिए ।
गोरखामा आतंक मच्चाइयो : डा. भट्टराई
निर्वाचन आयोगको छलफलमा माओवादी केन्द्रले गोरखामा आतंक मच्चाएको भन्दै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आरोप लगाएका छन् । गोरखाको लक्ष्मीबजारमा माओवादी केन्द्रका कार्यकर्ताले नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण गरी जिल्लाभर आंतक मच्चाएको उनको दाबी थियो ।
सानालाई मात्र आचारसंहिता ? : तामाङ
राप्रपा नेता बुद्धिमान तामाङले साना दलले मात्रै आचारसंहिता मान्नुपर्ने अवस्था देखिएको गुनासो गरेका छन् । निर्वाचन आयोगको छलफलमा नेता तामाङले ठूला दलले जे गरे पनि हुने र सानालाई मात्रै कारबाही गर्ने अवस्था रहेको आरोप लगाउँदै सबै दललाई उस्तै कानुन लागू हुनुपर्ने बताएका थिए ।