पाँच महिनाको कारागार बसाइपछि घर फर्किए महरा, भने–राष्ट्रिय स्वाधीनता पक्षमा सधैं लड्नेछु

पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप गलत सावित भएको बताएका छन् । उनी अदालतको फैसलापछि सोमबार नै रिहा भएका थिए । महरा ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसेका थिए ।

एक महिला कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा कारागारमा रहनुभएका महराविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले सफाइ दिने फैसला गरेपछि कारागार मुक्त भई घर फर्कनुभएको हो ।

आजै न्यायाधीश अम्बरराज पौडेलको इजलासले प्रमाणका आधारमा पूर्वसभामुख महरालाई सफाइ दिने फैसला गरेको थियो । “घटनाको अनुसन्धानका क्रममा भएको बयान र अदालतमा गरिएको बयान तथा पीडितले गरेको वकपत्र अध्ययन गर्दा एवं घटना भएको दिन आफ्नो कोठामा प्रतिवादी आउँदै नआएको पीडितको स्पष्ट बयान सफाइ पाउने आधार हो”, अदालतमा श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले भन्नुभयो, “जाहेरवाला पीडितले कुटपिट गरेकोलगायतको अभियोग दाबीबमोजिमको प्रयास नगरेको पीडितको वकपत्र र बयानमा स्पष्ट छ ।”

फैसलाको अर्को मुख्य आधारमा आँैठा छाप परीक्षण गर्ने विशेषज्ञको प्रतिवेदनअनुसार घटना भएको समयमा गिलास, चस्मासमेतमा औँठाको छाप महराको औँठा छापसँग नमिलेको हुँदा अभियोगअनुसार दाबी नपुगेको देखिएको फैसलामा उल्लेख छ ।

संसद् सचिवालयको एक महिला कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको आइतबार अन्तिम बहस शुरु भएको थियो । समय नभ्याएको हुनाले फैसला गर्न हेर्दाहेर्दैमा आज फैसला भएको हो । महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको थियो तर अभियोग पुष्टि हुन सकेन ।

निवर्तमान सभामुख महरा गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलाशले महरा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । सो आदेशअघि महरा गत असोज १९ गतेदेखि कात्तिक १८ गतेसम्म झण्डै एक महिना प्रहरी हिरासतमै बिताउनुभयोे ।

पूर्वसभामुख महराले जिल्ला अदालतको थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएको उल्लेख गर्दै साधारण तारेखमा रही पुर्पक्ष गरिपाउँ भन्ने निवेदन उच्च अदालतमा निवेदन गत मङ्सिर ५ गते दर्ता गर्नुभएको थियो । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँबरको इजलासले महरालाई धरौटीमा छाड्न अस्वीकार गर्दै काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई सदर गरेको थियो ।

पूर्वसभामुख महराविरुद्धको घटना गत असोज १२ गते प्रहरीले सार्वजनिक गरेको थियो । सोही अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोग पुष्टि नभएपछि पुर्पक्षका लागि थुनामा रहुनुभएको महरा सफाइ पाएर घर फर्कनुभएको छ ।

यस्तो छ महराले जारी गरेको विज्ञप्तिः

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,

अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ । म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु । यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।

म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु । यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु ।

एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ ।
धन्यवाद १

२०७६ फागुन ५
कृष्ण बहादुर महरा
प्रतिनिधि सभा सदस्य, दाङ–२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button