उपचार थाल्नै नपार्इ भएको थियो प्रकाश दाहालको निधन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ। काठमाडौंस्थित लाजिम्पाट निवासमा उनलाई अबेर राति हृदयघात भएपछि नर्भिक अस्पताल पुर्याइएको थियो। बिहान साढे ५ बजे अस्पताल पुर्याउँदा उनको मुटु बन्द भइसकेको नर्भिक स्रोतले जानकारी दियो।
५ः३० मा अस्पताल पुर्याउँदा मुटु बन्द भएको ४/५ घन्टा भइसकेको थियो। यसको कारण हृदयघात वा अन्यकारण पनि हुनसक्छ, संलग्न डाक्टरले भने। निधनको घोषणा भने परिवारका सदस्यहरु आएपछि गर्ने बताइएको छ।
बिहान घरमा अचेत अवस्थामा भेटिएका दाहाललाई तत्काल नर्भिक पुर्याउँदा उनलाई हृदयघात भएपछि गरिने क्याथल्याब प्रोसेसमै लैजान नपाएको अस्पतालका एक चिकित्सकले जनाएका छन्। चिकित्सकका अनुसार प्रकाशको शव अहिले आकस्मिक कक्षमै राखिएको छ।
चुनावी सभालाई सम्बोधन गर्न झापा पुगेका अध्यक्ष दाहाल भने भखर मात्र काठमाडौं पुगेका छन्, दिदी रेणु दाहालसहितको आफन्तहरु पनि भखर हेलिकोप्टर मार्फत काठमाडौं पुगेको छन् ।
हवाई जहाजबाट नियमित उडान मार्फत काठमाडौं जाने तयारी गरेपनि ढिलाई भएपछि भरतपुर महानगरपालिकाको मेयर समेत रहनु भएकी रेणु दाहालसहितका आफन्त हेलिकोप्टर मार्फत काठमाडौं गएका हुन् । अन्य आफन्त र पार्टीका नेता तथा कार्यकर्ताहरु काठमाडौं जानका लागि भरतपुर विमानस्थलमा जम्मा भएका छन् । दाहाल परिवार चितवन निवासी हुन् ।
प्रचण्डपुत्र प्रकाशको निधनपछि विक्रम पाण्डेको चुनावी कार्यक्रम स्थगित
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको आज विहान निधन भएपछि चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभाका उम्मेद्वार एवंम वन मन्त्री विक्रम पाण्डेले आजको सबै चुनावी कार्यक्रम स्थगित गरेका छन् ।
उनले पूर्व प्रधानमन्त्री दाहालका छोराको निधनले आफू मर्माहित भएको भन्दै आजका चुनावी कार्यक्रमहरु स्थगित गरिएको नारायणी अनलाईनलाई जानकारी दिए । यही मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं.३ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग नेता पाण्डे प्रतिस्पर्धामा रहेका छन् ।