नेपालमा तेस्रो व्यक्तिमा पनि देखियो कोरोना संक्रमण

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित संख्या तीन पुगेको छ । आज (बुधबार) नयाँ संक्रमित भेटिएसंगै संक्रमितको संख्या बढेको हो ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।
टेकु प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे ।संक्रमण पुष्टि भएका व्यक्ति दुबईबाट आएको खुलेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज पत्रकार सम्मेलन गर्दै कोरोना लागेका व्यक्ति बारे जानकारी दिएका हुन् ।
धादिङ घरभएका ३२ वर्षीय पुरुष धादिङ घर भएको बताइएको छ । उनी काठमाडौं ओर्लिएपछि काठमाडौंकै एक होटलमा बास बसेका थिए । त्यसअघि आफूलाई असहज महसुस भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए । उनमा मंगलबार नै कोरोना परीक्षण गरिएको थियो । उनको राती पोजेटिभ रिपोर्ट आएको थियो भने पुनः दोस्रो पटक आज विहानै परीक्षण गरिएको थियो । सो क्रममा पनि कोरोना पोजेटिभ देखिएपछि खबर बाहिर सार्वजनिक गरिएको थियो ।