रास्वपालाई दुर्गा प्रसाईंको सुझावः भिडले सत्य-असत्य छुट्याउने होइन,अदालतलाई कुरौँ

काठमाडौ,कात्तिक ५-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रभावित पार्ने उद्देश्यले कास्कीको पोखरामा जारी आन्दोलनमा सहभागी हुन लागेको हल्ला सामाजिक सञ्जालमा चलाइएपछि झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रतिक्रिया दिएका छन् । गत वर्षदेखि नागरिक बचाउ अभियानको समेत नेतृत्व गरिरहेका उनले फेसबुकमा एक पोस्ट शेयर गर्दै आफू पोखरा जान लागेको भनी गरिएको प्रचार झुटो भएको बताएका छन् ।
साथै, लामिछानेविरुद्ध अनुसन्धान गर्न अदालतले म्याद थपिसकेकाले आन्दोलन गर्नुको औचित्य नभएको पनि उनले लेखेका छन् । ‘म आज पोखरा जाने भन्ने हल्लाले धेरैमा भ्रम पैदा भएको पाएको छु, म झापा आफ्नै निवासमा छु,’ प्रसाईंले लेखेका छन्, ‘अदालतले अनुसन्धानका लागि म्याद थपिसकेपछि भिडले सत्य–असत्य छुट्याउने होइन । सम्मानित अदालतको आदेशलाई कुरौँ, सबैलाई अविश्वास गरेर पनि त भएन ।’
सर्वसाधारण निक्षेपकर्ताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम अपचलन प्रकरणमा रास्वपा सभापति लामिछाने गत शुक्रबार वनस्थलीस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए । मुद्दा कास्कीको भएकाले थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । हिजो आइतबार उनलाई हिरासतमै राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत कास्कीबाट प्रहरीले ६ दिनको म्याद लिएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।