आधिकारिक सूचना र जानकारी मात्र सम्प्रेषण गरौं : राजदूतावास

कतारमा रहेका नेपालीहरुले कोभिड – १९ बाट सिर्जित परिस्थितिका सम्बन्धमा म्यासेन्जर, भाइबर, व्वाट्सएपमार्फत आधिकारिक सूचना भन्दा फरक तरिकाले अनुमान र आंकलनका आधारमा विभिन्न प्रकारका सूचनाहरु आदान प्रदान गर्ने गरिरहेकाले राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको छ ।

खासगरी लकडाउन क्षेत्रमा रहेका नेपालीहरुको संख्या र अवस्था, क्वारेन्टाइन र लकडाउनमा रहेका नेपालीहरुको संख्या र अवस्था, संक्रमित नेपालीको संख्या र अवस्थाका बारेमा अतिरञ्जितरुपमा संचार प्रवाह हुने गरेको बुझिएको छ। यसले कतारमा रहेको नेपाली समुदायमा आतंक सिर्जना हुने तथा मनोबल कमजोर बनाउनुका साथै नेपालमा रहेका परिवार र आफन्तहरूमा पनि अनावश्यक त्रास फैलाउने अवस्था बन्न सक्ने दूतावासले बताएको छ ।

यो जटिल परिस्थितिमा सामाजिक संजालमा सक्रिय हुनु र एक आपसमा सही सूचनाको आदान प्रदान गर्नु सकारात्मक भएता पनि कोरोना भाइरस सम्बन्धी सामाजिक संजालमा अफवाह वा झुटा सूचना संचार गर्नु कतारको कानून विपरित हुने र यस्ता कार्यमा संलग्नहरुलाई कतार सरकारले कडा कारवाही गर्ने जनाएको दूतावासले बताएको छ । सामाजिक संजालको निगरानी कुनै न कुनै रुपमा निरन्तर भईरहने हुँदा संजालको प्रयोग गर्दा सचेतता अपनाउनु जरुरी हुन्छ ।

तसर्थ यी पक्षहरूमा सचेत रही कतार सरकार तथा यस राजदूतावासबाट जारी हुने आधिकारिक सूचना तथा जानकारी मात्र आदानप्रदान गर्न गराउन सबैमा दूतावास अनुरोध गरेको छ ।
कतार सरकारले संक्रमणको रोकथाम, पहिचान र उपचारमा कतारी र आप्रवासीबीचमा समान व्यवहार गरिने र संक्रमितको निशुल्क उपचार गरिने जनाएको छ। कतार सरकारले कोभिड – १९ को संक्रमणबाट उपचारार्थ संक्रमितहरूको समुदाय वा राष्ट्रियताका आधारमा जानकारी उपलब्ध नगराउने नीति लिएको छ।

संक्रमित व्यक्तिले चाहेमा परिवार, आफन्त वा राजदूतावाससॅंग सम्पर्क गरी जानकारी दिन सक्ने सन्दर्भमा उक्त भाइरसबाट संक्रमित केही नेपालीहरू राजदूतावासको सम्पर्कमा छन् । उनीहरुको स्वास्थ्यमा जटिलता नरहेको र सुधारोन्मुख रहेको छ । बिरामीको आग्रहबमोजिम यससम्बन्धी जानकारी सार्वजनिक गर्न नसकिने दूतावासले बताएको छ ।

यस विषम परिस्थितिमा कतार सरकारले अपनाएका सुरक्षाको उपायहरु तथा लागू गरेका निर्देशनहरुका पालना गरी  सहयोगको लागि दूतावासले कतारमा रहेका सबै नेपालीहरु प्रति आभार प्रकट गर्दै धन्यबाद व्यक्त गरेको छ।

दूतावासको विज्ञप्ति :

https://scontent.fdoh3-1.fna.fbcdn.net/v/t1.0-9/s960x960/93414267_3316665391696038_7504372562734874624_o.jpg?_nc_cat=109&_nc_sid=8024bb&_nc_ohc=Qub8sLtRFHMAX9mrGbP&_nc_ht=scontent.fdoh3-1.fna&_nc_tp=7&oh=7c47e0b8a3db9cca5df27b0a1d7bda42&oe=5EBE27A3

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button