नेपालमा आज राती १२ बजेबाट लकडाउन अन्त्य, केही क्षेत्रमा भने प्रतिबन्ध कायमै

काठमाडौं – सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत्र ११ गतेबाट नेपाल लकडाउन गरेको थियो ।
त्यस्तै सरकारले साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ हाल होटलहरु बन्द नै छन् भने रेष्टुरेन्टहरुमा प्याकिङ र टेक अवे सेवा मात्र दिने अनुमाति छ । होटलहरु खुले पनि सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान, मध्यम र लामो दुरीका अन्तरजिल्लाका यातायात भदौ १ गतेदेखि खुल्ने छन्। यानी विदेशमा रहेका नेपालीहरु अगस्त १७ तारिख देखि नेपाल आउन पाउनेछन्।
तर सरकारले केही क्षेत्रमा प्रतिबन्ध अझै कायमै राखेको छ । शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् । शैक्षिक संस्थाले विद्यार्थी भर्ना, परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सक्ने छन् ।