संक्रमित झन बढेकाे देख्दा कोरोना अन्त्य हुन गाह्रो देखिन्छ : डब्लूएचओले

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको छ ।
डब्लूएचओले विश्वमा कोरोना भाइरसको संक्रमण झनझन् बढेकाे भन्दै यो महामारी अन्त्य हुन निकै लामो समय लाग्ने देखिएकाे बताएको छ ।
डब्लूएचओका अनुसार पछिल्लो २४ घण्टामा विश्वका १ लाख ६ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
यसकारण कोरोना भाइरसको महामारी अन्त्य हुन निकै समय लाग्ने देखिएको डब्लूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका हुन्।
‘पछिल्लो २४ घण्टामा डब्लूएचओलाई प्राप्त तथ्यांकअनुासर विश्वमा१ लाख ६ हजार नयाँ केस थपिएका छन्, यो एकै दिन थपिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो,’ बुधबारको पत्रकार सम्मेलनमा डा. टेडरोजले भने, ‘झण्डै दुईतिहाइ केस त मात्रै चार देशका हुन्।’
उनका अनुसार पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशमा कोरोना संक्रमण बढ्दै गएको छ।
विश्वभमा दुई हप्तामै झण्डै १० लाख संक्रमित थपिएकाे डब्लूएचओले जनाएकाे छ।
अझ विज्ञहरूले धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुन नसकेकाले संक्रमितको वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने अनुमान गरेका छन्। – नारायणी अन्लाईन