हिजोको पत्रकार सम्मेलन मार्फत आएको जानकारी

कोरोना भाइरस नियन्त्रण गर्न कतार यतिखेर हरकिसिमले लागि परेको छ । भाइरस विरुद्ध भैरहेको पछिल्लो गतिविधि बारे जानकारी दिन स्वास्थ्य मन्त्रालयले हिजो पत्रकार सम्मेलनको आयोजना गरेको थियो । कार्यक्रममा भाइरस विरुद्ध राष्ट्रिय योजना तथा हमाद अस्पताल अन्तर्गत सरुवा रोग डिभिजनका प्रमुख डाक्टर अब्दुला अतिफ अल खाल र डाक्टर मुनाले गतिविधिबारे विस्तृत गर्नुभएको थियो ।

कतारमा हिजो सम्म भाइरस देखिएका ३७,०९७ बिरामी मध्ये ६,६०० जनालाई निको भएको र १६ जनाको मृत्यु भैसकेको छ । हालसम्म १,७०,४३७ जनामा परिक्षण गरिएको छ ।

डाक्टर खाल बाट गरिएको विस्तृत जानकारी :

हामी अझै पनि भाइरसको उत्कर्ष अवस्थामा छौ  । धेरै जसोले इफ्तारका लागि भेला हुँदै सावधानीका माध्यम नअपनाएकाले भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दै गैरहेको देखिएको छ ।

– प्राय संक्रमित २५ देखि ३४ वर्ष उमेर समुहका छन् । यो पूरा संक्रमितको जम्मा ३५ प्रतिशत हुन जान्छ ।

– पछिल्लो केहि दिन अवस्था स्थिर देखिएपनि कतारमा कोभिड – १९ को महामारी अहिले बढेको छ ।

– आईसीयुमा भर्ना हुने धेरै जसो ४५ देखि ५४ वर्ष उमेर समुहका रहेका छन्  ।

– जम्मा ७४ जनालाई भेन्टिलेटर प्रयोग गरिनु परेको छ जुन आईसीयुमा रहेका मध्येको ४३ प्रतिशत हुन जान्छ ।

– फ्रन्टलाइनमा काम गर्ने डाक्टर,नर्स,चिकित्सक लगायत सबैलाई धन्यवाद दिन चाहान्छौ ।

– बिरामी बाट स्वास्थ्य लाभ गर्नेको संख्या पनि दिनहुँ बढीरहेको छ जुन उत्साहजनक छ । यो हप्ता सम्म आईपुग्दा ६ हजार बढीलाई निको भैसकेको छ ।

– बिरामी मध्ये धेरैजसोमा सामान्य लक्षण भएपनि अहिले बढी लक्षणका बिरामीहरु पनि देखिन थालेका छन् ।

– इद सबैजना भेला भएर रमाईलो गरिने एक परम्परागत समय हो । तर यस वर्ष पहिलोपटक यो भिन्नै हुनेछ । विशेष काममा बाहेक घर बाहिर ननिस्किनु एकदमै महत्त्वपूर्ण रहेको बुझ्न जरुरी छ । निस्किनै परे पनि सामाजिक तथा शारीरिक दुरि कायम गरौं ।

– हामी सबै मिलेर मात्र यो महामारीको सामना गर्न सक्छौं तसर्थ स्वास्थ्य संस्था संग मिलेर काम गर्न आग्रह गर्दछौं ।

– कतारमा भाइरस फैलन नदिन एह्तेराज एपको धेरै फाईदा रहेको छ । तसर्थ एप अनिवार्य प्रयोग गरौं ।

– सवारीमा एक जनालाई भाइरस छ भने यात्रा गर्ने सबैमा भाइरस फैलिने जोखिम हुन्छ त्यसैले एक निजि सवारीमा दुई जना भन्दा बढीले यात्रा नगरौं ।

 

डाक्टर मुना मस्लामनी बाट विस्तृत जानकारी :

– विश्वभरको तथ्यांक हेर्दा कोभिड – १९ भाइरस जोकोही लाई पनि लाग्न सक्छ । पुरानै श्वासप्रश्वासका सम्बन्धी रोग भएकालाई यसले बढी असर गर्ने देखिएको छ ।

– हमाद अस्पतालको तथ्यांकअनुसार आईसीयुमा भर्ना भएका ४९ प्रतिशत बिरामीलाई पुरानै एक वा बढी श्वासप्रश्वासको रोग रहेको छ । यस्ता बिरामीको रोग प्रतिरोधात्मक शक्ति कमजोर हुने भएकाले उपचारमा कठिनाई हुन जान्छ ।

– कोभिड – १९ संक्रमित हरेक बिरामीमा लक्षण भिन्दाभिन्नै देखिएको छ । तथापि लक्षण नै देखा नपर्ने बिरामीको संख्या कतारमा धेरै छ ।

– पूरा संक्रमितको जम्मा ९४ प्रतिशत बिरामीको अवस्था सामान्य छ , ५ प्रतिशतलाई अस्पताल भर्ना र १ प्रतिशतलाई मात्र आईसीयुमा भर्ना गर्नुपरेको छ ।

– हामीले बिरामीको उपचारमा प्लाज्मा उपचारको विधि प्रयोग गरिरहेका छौ । ( निको भैसकेको व्यक्तिको प्लाज्मा नयाँ बिरामीमा प्रयोग गरि उपचार गरिने विधि) हाल सम्म एक सय भन्दा बढी बिरामी यसै विधि बाट उपचाररत छन् ।

– नाजुक अवस्थाका बिरामीलाई हज्म मेबेइरीक अस्पतालमा उपचार भैरहेको छ । ती मध्ये केहिलाई भेन्टिलेटर र केहिलाई एक्मो थेरापीको प्रयोग गरि उपचार भैरहेको छ ।

– श्वासप्रश्वास सम्बन्धि रोग भएका बिरामीलाई भाइरसले बढी असर गर्ने हुँदा त्यस्ता बिरामीहरु घरमै बसेर आफुलाई जोगाउन आग्रह गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button