किन ६ दिन देखी अशान्त छ अमेरिका ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि हालतमा हाल भइरहेको प्रदर्शन र प्रदर्शनको क्रममा भएका झडप, लुटपाट, तोडफोड, आक्रमण तथा भौतिक सम्पत्तिमा भइरहेको प्रचण्ड विनाश रोक्ने बताएका छन् ।
प्रहरीको यातनाले एक अश्वेत व्यक्तिको मृत्यु भएपछि गत सातादेखि अशान्त बनेको अमेरिकामा कर्फ्यू लगाउदा पनि प्रदर्शन रोकिएका छैनन् ।
प्रहरीको यातनाबाट जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको मृत्यु भएको आरोपपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै अमेरिकाका वासिङ्टन डिसीसहित २३ राज्यका ७० भन्दा बढीमा शहरमा पुगेको बीबीसीले जनाएको छ ।
अश्वेत व्यक्तिको मृत्यु प्रकरण रंगभेद आन्दोलनमा परिणत भएपछि सुरक्षाकर्मीको अवरोध छिचोल्दै ह्वाइट हाउससम्म प्रदर्शनकारीहरू पुगेपछि त्यहाँ सुरक्षा सतर्कता उच्च बनाइएको छ । प्रदर्शनका क्रममा झडप, लुटपाट, तोडफोड र आक्रमणका घटना भइरहेका छन् ।
उच्च सुरक्षा तैनाथीसहित कर्फ्यू जारी गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाट रोकेका छैनन् ।
वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी, मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भए पनि प्रदर्शन नरोकिएपछि प्रहरीले ४१ सयभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।
गएको सोमबार (मे २५ मा) एउटा पसलमा एक व्यक्तिले नक्कली नोट दिएको भनी फोन आएपछि त्यहाँ पुगेका सुरक्षाकर्मीले नक्कली नोट दिएका भनिएका व्यक्ति जोर्ज फ्लोइडलाई समातेर गाडीमा राख्न खोज्दा नमानेपछि डेरेक शौभिन नामक ४४ वर्षीय सुरक्षाकर्मीले ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा घाँटीमा घुँडाले थिचेको र त्यसको केही बेरमा फ्लोइडको मृत्यु भएको आरोप लाग्दै आएको छ ।
सेना परिचालन गर्ने ट्रम्पको चेतावनी
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल भइरहेको हिंसात्मक प्रदर्शन अन्त्यका लागि सेना परिचालन गर्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले प्रदर्शन रोक्नका लागि संघीय तहमा उपलब्ध सबै स्रोत परिचालन गर्ने बताएका हुन् । उनले सेना परिचालन गर्ने समेत बताएका छन् ।
ट्रम्पले प्रदर्शन रोक्नका लागि संघीय तहमा उपलब्ध सबै स्रोत परिचालन गर्ने उल्लेख गर्दै सेना परिचालन गर्ने चेतावनी दिएका हुन् ।
उनले भनेका छनन्, ‘हामीले दंगा तथा कानून बिहीनता अन्त्य गर्दैछौँ, जुन देशभर फैलिएको छ।’
उनले अघि भने, ‘क्रुरताका कारण भएको जर्ज फ्लोइडको मृत्युबाट सबै अमेरिकी स्तब्ध भएका छन् र त्यसका कारण आक्रोश पनि पैदा भएको छ । तर उनको मृत्यु व्यर्थ भएन होला ।’
फ्लोइडको सम्झना आक्रोशित भिडले गर्ने दंगाबाट हुन नसक्ने उनले बताएका छन् । गएको मे २५ मा निहत्था अश्वेत व्यक्ति फ्लोइडको मिनेशोटा राज्यको मिनियापोलस प्रहरी हिरासतमा निधन भएको थियो । उनलाई पक्राउ गर्ने क्रममा श्वेत प्रहरी अधिकारीले घुँडाले घाँटीमा लामो समय थिचेको भिडियो भाइरल भएको थियो ।
ट्रम्पले अमेरिकीलाई सम्बोधन गर्दै भने, ‘म तपाईँहरुको राष्ट्रपति हुँ, कानूनी राज्य स्थापना गर्नु मेरो जिम्मेवारी हो । म शान्तिपूर्ण प्रदर्शनको पक्षधर पनि हुँ ।’
उनले भने, ‘तर पछिल्ला दिनहरुमा हाम्रो देशलाई अराजकतावादी, हिंस्रक भिड, लुटपाट, आगजनी गर्नेहरु, अपराधीसहितले जकडेका छन् । राज्य तथा स्थानीय सरकारले यसलाई नियन्त्रणमा लिन सकेनन् । त्यसैले संघीय प्रयास हुने छ ।’
यसअघि उनले गभर्नरहरुसँग टेलिफोन वार्ता गरी पछिल्ला दिनमा भइरहेका प्रदर्शनमा उनीहरुको प्रतिक्रियालाई देखेर विश्व हाँसिरहेको भन्दै जागरुक हुन भनेका थिए ।
वासिङ्गटन डिसी सहितका क्षेत्रमा प्रदर्शन भएका भइरहेका छन् । कर्फ्यू लगाए पनि प्रदर्शनकारीले तोडेका छन् । अब कर्फ्यू थप कडा बनाइने उनले बताए । नियम तोड्नेहरुलाई पक्राउ गरिने उनले बताएका छन् । उनीहरुलाई कानून अनुसार कारवाही गरिने चेतावनी ट्रम्पले दिएका छन् ।
उनले भइरहेका प्रदर्शनलाई ‘आतंक’ को शंज्ञा दिँदै संलग्नहरुलाई आपराधिक सजाय हुने र लामो समय जेलमा राखिने बताए ।
‘राज्यहरू हिंसात्मक प्रदर्शन रोक्न असमर्थ भइरहेका हुन् भने नागरिकको जीवन र सम्पत्ति रक्षा गर्न म सेना परिचालन गर्नेछु र हिंसात्मक प्रदर्शनको अन्त्य गर्नेछु,’ ट्रम्पले भने ।
क्रुरताका कारण भएको जर्ज फ्लोइडको मृत्युबाट सबै अमेरिकी स्तब्ध भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘फ्लोइडको मृत्युबाट अमेरिका स्तब्ध छ, यसैका कारण आक्रोश पनि पैदा भएको छ । तर उनको मृत्यु व्यर्थ पनि भएन होला ।’
ट्रम्पले अमेरिकीलाई सम्बोधन गर्दै आफूमा कानूनी राज्य स्थापना गर्ने जिम्मेवारी रहेको स्मरण गर्दै शान्तिपूर्ण प्रदर्शनको आह्वान पनि गरेका छन् । – नारायणी अन्लाईन