कतार आउनेले आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नुपर्ने

कतारले आउने जुन १५ देखि क्रमिक रुपमा कोभिड-१९ को प्रतिवन्ध चार चरणमा हटाउदै लाने भएको छ ।
पहिलो चरणमा अति आवश्यक कामले कतार बाहिर जानुपर्नेहरुका लागि अनुमति दिईनेछ । त्यस्तै कतार फर्कने सबै यात्रुले आफ्नै खर्चमा सरकारले तोकेको होटलमा १४ दिन सम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
कोरोनाभाइरसको प्रतिवन्ध लागेर कतार बाहिर फसेका कम संक्रमण भएको देशका आप्रवासीलाई कतारले तेस्रो चरण अन्तर्गत अगस्ट महिना देखि फर्कन दिने बताएको छ ।
कतार एयरवेजको गन्तव्य व्यवस्थापन समिति र राष्ट्रिय पर्यटन काउन्सिलको पार्टनर रहेको डिस्कोभर कतारले केही दिन भित्र कतार फर्कने कतारी नागरिक तथा आप्रवासीका लागि विभिन्न होटेल प्याकेजको जानकारी आफ्नो वेबसाईट मार्फत जारी गर्ने जनाएको छ ।
यात्रुहरु कतार एयरवेज वा अन्य कुनै एयरलाइन्स बाट कतार आउन पाउनेछन् । तर यात्रुले सरकारले तोकेको क्वारेन्टाइन होटेलको बूकिङ भने सिधै discoverqatar.qa बाट गर्नुपर्नेछ । उनीहरुले यो वेबसाईट बाहेक अरु बाट चाहेको होटेल बुक गर्न पाउनेछैनन् ।
भिसा सकिएकाले के गर्ने ?
यदि कतार बाहिर रहदा भिसा सकिएको भए उनीहरु १४ दिनको क्वारेन्टाइनमा बस्ने गरि सिधै कतार प्रवेश गर्न पाउनेछन् । क्वारेन्टाइनको अवधी सकिएपछि उनीहरुले आइडी नवीकरण गर्नुपर्नेछ ।
कतार आउन पाउने सबै नागरिकले सरकार बाट मान्यता प्राप्त भएको क्वारेन्टाइनमा १४ दिन बस्नुपर्नेछ ।
कहिले कतार आउन पाउने र केके गर्नुपर्ने ?
जुन १४ भन्दा अगाडि ( कतारी नागरिक मात्र)
जुन १४ भित्र कतार फर्केका कतारी नागरिकलाई सरकारले १४ दिनको लागि कुनै होटेलहरुमा क्वारेन्टाइनको व्यवस्था गर्नेछ । उनीहरुले कुनै रिजर्भेसन गर्नुपर्ने छैन र हमाद विमानस्थलमा आएपछि सरकारले नै होटेल सम्म पुराउनेछ ।
जुन १५ देखि अगस्ट ३१ सम्म फर्कने कतारी नागरिकका लागि
यस अवधिभित्र कतार फर्कने कतारी नागरिकले हवाई टिकट र आफ्नै खर्चमा डिस्कोभर कतार बाट बुक भएको होटेलको प्रमाण देखाउनुपर्नेछ । प्याकेज जुन १४ देखि उपलब्ध हुनेछ र यो हमाद विमानस्थलमा आएर पनि बुक गर्न सकिनेछ । त्यस्तै अगस्ट १ तारिक सम्म कतारी नागरिकलाई मात्र आउन दिइनेछ ।
अगस्ट १ देखि ३१ तारिक सम्म (कतारी नागरिक र आईडी भएकाहरु )
सम्पूर्ण कतारी र आप्रवासी नागरिकले कतार आउन अघि नै हवाई टिकट र आफ्नै खर्चमा डिस्कोभर कतार बाट बुक भएको होटेलको प्रमाण देखाउनुपर्नेछ ।