कुवेतबाट फर्किएका १४९ महिला खरिपाटी क्वारेन्टाइनमा

कुवेत सरकारको आममाफीमा परेर आज नेपाल फर्किएकाहरुलाई नेपाल विद्युत् प्राधिकरण भक्तपुरको खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको छ । कुवेतबाट नेपाल फर्किएकामध्ये दुई महिलालाई कोरोना भाइरस संङ्क्रमणको आशंका भएपछि आज नेपाल आएका नौ बालबालिकासहित १४९ महिलालाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनमा राखिएको हो ।
कुवेतबाट फर्किँदा गरिएको कोभिड–१९ को परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शरीरको तापक्रम मापन गर्दा दुई जनामा ज्वरो आएको पाइएपछि सबैलाई खरिपाटी क्वारेन्टाइन लगिएको हो । विपद् व्यवस्थापन समिति ९सिसिएमसी० भक्तपुरका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले होल्डिङ सेन्टरमा राखेर सम्बन्धित प्रदेश पठाउने तयारी गरिएपनि फर्किएकामध्ये दुईलाई ज्वरो देखिएपछि सबैलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।