ई-गेट सेवा प्रयोग गर्ने यात्रुको संख्या २० लाख नाघ्यो

कतार भित्रने तथा बाहिरिने यात्रुहरुको सुविधाको निमित्त हमाद अन्तराष्ट्रिय विमानस्थलमा राखिएको ई-गेट सेवा प्रयोग गर्ने यात्रुको संख्या सुरुवाती वर्षको तुलनामा दोब्बर बढेको छ।विमानस्थलको तथ्याङ्क अनुसार २०१७ मा कतार भित्रने १०.२८ लाख र बाहिरिने १०.१८ लाख गरी जम्मा २०.४६ लाख बढी यात्रुहरुले सेवा प्रयोग गरेका छन्।
विमानस्थलले आगमन तथा प्रस्थान कक्षमा चाँडै २० ओटा ई-गेट थप्ने योजना बनाएको छ।यो सेवा प्रयोग गर्नाले यात्रुले कुनै कर्मचारीको रेखदेख बिना नै विमानस्थलमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्नेछन्।आन्तरिक मन्त्रालयले प्रदान गरेको यो सेवाको प्रयोग कतारी बासिन्दा तथा आप्रवासी नागरिकका लागि निशुल्क रहेको छ।यो सेवाले यात्रुको समय समेत बचत गर्दछ।
विमानस्थलमा हाल आगमन कक्षमा १९ र प्रस्थान कक्षमा २१ गरेर जम्मा ४० ई-गेट रहेको छ।यो पासपोर्ट काउन्टर सँगैको सीधा लाइनमा राखिएको छ।यसले यात्रुको औंठाछाप,आँखाको स्क्यान र आवश्यक यात्रा कागजपत्रको साथमा काम गर्दछ।

के हो ई-गेट सेवा ?
ई-गेट सेवा विधुतिय प्रणाली बाट स्वत चल्ने एकप्रकारको मेसिन हो । विमानस्थल भित्र हुने यात्रुको चापलाई घटाउन र छिटो छरितो काम गर्न यो सेवा सुचारु गरिएको हो । यो सेवा प्रयोग गर्दा राहदानी नियन्त्रण अधिकृतद्धारा स्वीकृती लिन वा राहदानीमा प्रस्थान वा आगमनको स्ट्याम्प हान्न पहिलेको जस्तो लामो लाइनमा कुरेर बस्नुपर्ने छैन् । यसले यात्रुको कागजपत्रको गोपनियता तथा सुरक्षा राख्नेछ । यो सेवा प्रयोग गर्नाले धेरै यात्रा गर्दा धेरै स्ट्याम्प लगाउँदा राहादानीको पाना सकिने झन्झट पनि बन्द हुनेछ ।

यसको प्रयोग कसरी गर्ने ?
१.शुरुमा मेसिनमा हुने ई रिडरमा आफ्नो परिचय पत्र वा राहादानी देखाउन पर्नेछ । त्यसले तपाईको कागजपत्र जाच्नेछ ।
२.त्यसले स्वीकृत गरेपछि यात्रुलाई अरबी वा अङग्रेजी भाषामा अगाडी बढ्ने संकेत दिईनेछ ।
३.पहिलो सिसाको ढोका पार गरेपछि,मेसिनले यात्रुको आँखा तथा औंठाछाप खिच्दछ । डाटा मिलेको खण्डमा बाहिरिने अन्तिम ढोका आफै खुल्नेछ । त्यसपछि सिधै सामान जम्मा गर्ने ठाउँमा पुग्न सकिनेछ ।
यो सेवा पुरा गर्न दुई मिनेट भन्दा पनि कम समय लाग्दछ ।