अगस्टदेखि यस्तो छ कतार आउने प्रक्रिया

कतारले आउने अगस्ट १ तारिक देखि आप्रवासी कामदरलाई प्रवेश दिने निर्णय गरेको छ । सरकारले कोभिड १९ बाट कम प्रभावित ४० राष्ट्रको सुची समेत निकालेको छ । तर त्यस सूचीमा नेपाल लगायत भारत,पाकिस्तान,बाङ्लादेश जस्ता साधारण कामदार भएको देशको नाम परेको छैन । सरकारले सूची हरेक दुई हप्तामा फेरबदल गर्न सक्ने बताएको छ । यद्यपि केही प्रक्रिया पूरा गरि प्राथमिकताको आधारमा यी नाम नपरेका देशका कामदार पनि अगस्ट देखि कतार आउन पाउने सरकारले बताएको छ । साथै आईडी प्राप्त गरिसकेका नयाँ कामदार पनि अगस्ट देखि आउन पाउनेछन् ।
सूचीमा परेको देशको नागरिकहरुको लागि
भाइरसबाट कम प्रभावित देशको सूचीमा परेका नागरिक सिधै कतार आउन पाउनेछन् । हमाद विमानस्थल उनीहरुको पीसीआर परिक्षण गरिनेछ र होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धताको पत्रमा हस्ताक्षर गर्न लगाइनेछ । २४ घन्टा भित्र गरिएको परिक्षण रिपोर्ट साथमा ल्याए विमानस्थल भाइरसको जाँच गर्नुपर्दैन । त्यसपछि आफ्नै कोठा वा डेरामा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । क्वारेन्टाइन बसेको छैठो दिनमा सरकारी मान्यता प्राप्त स्वास्थ्य संस्था बाट भाइरसको पुन जाँच हुनेछ । भाइरसको नतिजा नेगेटिभ आए काममा फर्कन दिईने र पोजेटिभ आए आइसोलेसनमा राखिनेछ ।
सूचीमा नपरेको देशको नागरिकहरुको लागि
१. नेपाल जस्तै सुचिमा नपरेको देशका नागरिकहरुलाई प्राथमिकताको आधारमा इन्ट्री परमिट लिएर मात्र कतार प्रवेश गर्न दिइनेछ ।
२. कम्पनीलाई सम्पर्क गरि कामदार आफैले परमिट लिन सक्ननेछन् । कतार पोर्टल(हुकुमी) को वेबसाईट मार्फत अगस्ट १ देखि मात्र लिन सकिने परमिटको प्रक्रिया पहिले खुरुज पेपर लिए जस्तै रहेको छ ।
३. परमिट प्राप्त गरिसकेपछि कतार सरकारले तोकेको डिस्कोभर कतार नामको वेबसाईट बाट ७ दिनको होटेल बुकिङ गर्नुपर्नेछ । यो समाचार तयार पार्दा सम्म ७ दिनको होटेलको शुल्क १,९५० रियाल देखि माथी रहेको छ । न्यून तलब भएका कामदारहरुको लागि सरकारले छुट्टै क्वारेन्टाइन सेन्टर उपलब्ध गराउनेछ र त्यसमा लाग्ने शुल्क कम्पनीले बेहोर्नपर्ने जनाईएको छ ।
४. कतार आएपछि यात्रुहरुको हमाद विमानस्थलमा पीसीआर परिक्षण गरिनेछ र सिधै बुक गरिएको होटेल लगिनेछ ।
५. होटेल क्वारेन्टाइनमा बसेको छैठो दिनमा भाइरसको पुन जाँच गरिनेछ । भाइरसको नतिजा पोजेटिभ आए आइसोलेसनमा राखिनेछ र नेगेटिभ आए पुन अर्को हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
६. त्यसपछि एह्तेराज एपमा हरियो कोड आए काममा फर्कन पाईनेछ ।
स्वास्थ्य मन्त्रालयको अनुसार सिधै होम क्वारेन्टाइनमा बस्न पाउनेहरुको सूची
१. ५५ वर्ष भन्दा माथिका व्यक्ति
२. मेरुदण्ड वा कुनै अङ्ग प्रत्यारोपण गरेका बिरामी
३. जसले इम्युनोसप्रेसिभ थेरापी प्राप्त गरेका बिरामी
४. मुटु सम्बन्धि समस्या भएका बिरामी
५. दमका बिरामी
६. क्यान्सरका बिरामी
७. गर्भवती महिला
८. पाँच वर्ष भन्दा मुनिका बालबालिकाको रेखदेख गर्ने सहयोगी
९. मृगौला बिरामी
१०. कलेजो बिरामी
११. अपाङ्ग
१२. उच्च रक्तचापका बिरामी
१३. मधुमेहका बिरामी