३५ औं उडानबाट आज १४५ जना नेपालीहरू स्वदेश फर्किए

दोहाबाट भएको ३५ औं उडानबाट आज १४५ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।
कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले दूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए बमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको एच ९५६३२ बाट जम्मा १४५ जना नेपालीहरू नेपाल फर्किएको दूतावासले जानकारी गराएको छ ।
७२ घण्टा भित्र कोभिड -१९ परीक्षण गरी पिसिआर जाँच नेगेटिभ लेखिएको प्रमाणपत्रसहित विमानस्थल आएका यात्रुमात्र नेपाल जान पाउने दूतावासले बताएको छ ।
दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीहरुको यात्रा सहजिकरण र समन्वय तथा बिदाईका लागि दूतावास तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
कतारबाट नेपाल एयरलाइन्सको अर्को उडान भोलि हुने दूतावासले जानकारी गराएको छ।