कोरोनाका कारण विदेशमा थप ४३ नेपालीको मृत्यु, मृतकको संख्या २४३ पुग्यो

काठमाडौँ – विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको छ।
यो साता कतारमा पनि थप दुई नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका मुलुकमा कोरोना संक्रमणदर सामान्यरूपमा वृद्धि भएको छ। कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् ।
यस्तै नेपालमा शनिबारसम्म ५३ हजार १२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। तीमध्ये ३७ हजार ५२४ कोरोनामुक्त भएका छन्।
यो कूल संक्रमितको ७० दशमलव छ प्रतिशत हो। हालसम्म नेपालमा ३३६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
कोरोना संक्रमणका कारण नेपालसहित विश्वभर जम्मा ५७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ।
यस्तै विश्वभर ९० हजार ७६७ जनामा नेपालीमा संक्रमण देखिएको छ भने तीमध्ये ७१ हजार ७१७ जना कोरोनामुक्त भएका छन्।
नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७८ दशमलव सात प्रतिशत रहेको छ । – रासस