आन्तरिक मन्त्रालयले भोलि सेमिनार आयोजना गर्दै

गमन पत्र उजुरी कमिटीको कार्य प्रक्रियाबारे विस्तृत गर्न कतारमा रहेका आप्रवासी समुदायसँग प्रतक्ष्य सम्पर्क तथा अन्तरक्रिया बढाउने उद्देश्यले आन्तरिक मन्त्रालय अन्तर्गतको जनसम्पर्क विभाग तथा गमन पत्र उजुरी कमिटीको समन्वयमा भोलि दोश्रो प्रशिक्षण सेमिनार आयोजना हुनेभएको छ।
कार्यक्रम भोलि मंगलबार बेलुका ६ बजे बाट बिन ओम्रान स्थित अल अह्ली अस्पताल नजिक रहेको नागरिक रक्षा निर्देशनालयको आधिकारिक क्लबमा आयोजना हुँदैछ। सेमिनार विशेषगरी कतारमा रहेका नेपाली,यमनी,सुडानी,इजिप्टियन,लेबनानी,मलेसियन,पाकिस्तानी,फिलिपिनी,सिरियन,इण्डोनेशियन लगायतका समुदायप्रति लक्षित गरिएको छ।
सेमिनारमा गमन पत्र उजुरी कमिटीका प्रमुख लगायत आन्तरिक मन्त्रालय अन्तर्गतको मानव अधिकार तथा सर्च एण्ड फलो अप विभागका अधिकारी,राष्ट्रिय मानव अधिकार विभाग,श्रम मन्त्रालय र सामाजिक मामिला मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।
कुनै पनि कारणवस श्रमिकहरुलाई आफ्नो कम्पनीले स्वदेश फिर्ता नपठाउँदा वा अन्य कारणले कतार छोड्न अफ्ठ्यारो परेको खण्डमा गमन पत्र उजुरी कमिटीले कसरी प्रक्रिया अगाडि बढाएर कामदारलाई स्वदेश फिर्ता पठाउँछ भन्ने कुरा बुझाउनु नै सेमिनारमा मुख्य उदेश्य रहेको छ।
यसका साथै समुदायको प्रतिनिधिहरूलाई त्यहाँ उपस्थित विभाग अन्तर्गतको सेवा बारे कुनै प्रश्न रहेको खण्डमा सोध्न सकिने व्यवस्था कार्यक्रममा गरिएको छ।
आन्तरिक मन्त्रालयले सेमिनारमा उपस्थित हुन प्रत्येक संस्था बाट बढीमा दुई जना प्रतिनिधिलाई आमन्त्रण गरेको छ भने उक्त व्यक्तिको नाम मंगलबार १० बजे भित्र दर्ता गराउन समेत आग्रह गरेको छ।त्यस्तै गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारले पनि केही दिन अगाडि सूचना प्रकाशित गर्दै नाम दर्ता गराउन सम्पूर्ण संघ संस्थालाई आग्रह गरेको थियो।
दर्ता व्हाट्स एप्प नम्बर ५५५११५२६ मा पनि गर्न सकिनेछ।त्यस्तै सेमिनारमा इच्छुक व्यक्तिले कार्यक्रमको स्थलमा नै गएर आफ्नो उपस्थितको लागि नाम दर्ता गर्न सक्नेछन्।
त्यस्तै कम्पनीको प्रतिनिधिहरूको लागि पनि मन्त्रालयले सेमिनार आउँदो अक्टोबर ३ र १० तारिख बिहान ९ बजे मादिनाटमा अवस्थित ट्राफिक विभागको सभा हलमा आयोजना गर्दैछ।

