बिज्ञापन

ढुक्क हुन स्टम्प उखेलें : पारस

सेतोपाटी संवाददाता

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा १-१ को नतिजा निकालेर नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ। गत शुक्रबार नेदरल्याण्डससँगको खेलमा नेपालले एक रनको रोमाञ्चक जित निकालेको थियो।

खेलको अन्तिम बलमा नेदरल्याण्डसलाई जितका लागि २ रन चाहिएको थियो।

नेपाली कप्तान पारस खड्काले फालेको बलमा नेदरल्याण्डसका १० नम्बरका ब्याट्सम्यान फ्रेड्रिक ज्याक क्लासनले  प्रहार गरेको स्ट्रेट ड्राइभ अर्कोतिरको स्टम्पमा लाग्यो।

त्यतिबेला अर्का ब्याट्सम्यान पउल एड्रिएन भ्यान मिकरेन क्रिजभन्दाबाहिर  थिए तर पारसले क्लासनले प्रहार  गरेको बल नछोएका कारणले उनी आउट भएनन्।

रन लिनलाई क्लासन र भ्यान मिकरेन दुबै दौडिए। पारसले स्टम्पमा लागेर फर्किएको बल आफ्नो फलो थ्रोमा समाते र दौडिदै गएर एउटा स्टम्प उखेले। क्लासन रन आउट भए। नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल जित्यो।

सो रन पूरा भएको भए म्याच टाइ हुन्थ्यो। पारसले स्टम्प उखेल्दा एउटा बेल झरिसकेको थियो भने अर्को स्टम्पमै थियो। पारसले दौडेर उखेल्नुको साटो बल स्टम्पमा फाल्दा बल स्टम्पमा नलाग्न पनि सक्थ्यो। लागे पनि बाँकी रहेको बेल नखसेको भए क्लासन आउट हुन्नथे। अर्को बेल खसे पनि अम्पायरले  क्लासनको प्रहारमा एउटामात्र बेल खसेको याद नगरेका भए रन आउट नदिन सक्थे।

सो म्याचमा थर्ड अम्पायर नराखेकाले उनले क्लासनको प्रहारबाट एउटा बेल झरेको थियो कि दुइटै भनी सोध्ने अवस्था थिएन।

यस्तोमा पारसले ‘प्रिजेन्स अफ माइन्ड’(तत्कालै सही निर्णय लिने क्षमता) देखाउँदै दौडेर गएर स्टम्प उखेली नेपालको जित सुनिश्चित गरे।

‘त्यतिबेला अम्पायर नजिकै थिए। तर उनले त्यो सबै स्पष्ट नदेखेका पनि हुन सक्थे,’ पारसले सो क्षणबारे कुरा गर्दै सेतोपाटीसँग भने,‘ढुक्क हुनलाई मैले स्टम्प उखेलें। त्यति गरेपछि खेल जितियो।’

पहिलो खेल ५५ रनले हारिसकेको नेपाल दोस्रो खेल टाइ भएको भए श्रृंखला १-० ले हार्थ्यो। पारसले तत्काल निर्णय गरेकाले नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला १-१ ले बराबरी गर्‍यो।

‘जित्नमा ध्यान केन्द्रीत भएको बेला आफैं त्यस्तो निर्णय गरिहालिन्छ,’ पारसले थपे।

पारसले यस्तै ‘प्रिजेन्स अफ  माइन्ड’ गत पुसमा विराटनगर र भैरहवाबीच भएको एभरेष्ट प्रिमियर लिगको फाइनलमा पनि देखाएका थिए।

भैरहवालाई सो खेल जित्न अनिल साहले फालेको अन्तिम बलमा ५ रन चाहिन्थ्यो। चौका भएको भए खेल टाई भएर सुपर ओभरमा जान्थ्यो।

भैरहवाका ब्याट्सम्यान भुपेन्द्र थापाले प्रहार गरेको सट बाउन्ड्रीमा फिल्डरले रोकेर  चौका हुनबाट जोगाए। तर उनले फालेको बल विकेट किपर आशिफ शेखले समाउन सकेनन्।  

दर्शकहरू विराटनगरले खेल जितिसकेको भनेर मैदानभित्र दौडिए। विराटनगरका खेलाडी पनि खुसीयाली मनाउन थाले। तर भैरहवा ब्याट्सम्यानहरू भने निरन्तर दौडिरहे।

त्यतिबेला ‘ननस्ट्राइकिङ इन्ड’को  स्टम्पमा लागेर  बल केही पर पुगेको थियो। यहीबीच भैरहवाका ब्याट्सम्यानले तीन रन जोडेका थिए। उनीहरू चौथो रनका लागि दौडिदै थिए।

यस्तो अवस्थामा  विराटनगरका कप्तान पारस ‘ननस्ट्राइकिङ इन्ड’मा आए र उनले बल समाते अनि एउटा स्टम्प उखेलिदिए।  विराटनगरले १ रनले म्याच जित्दै उपाधि चुम्यो।

क्रिकेटको नियमअनुसार रन आउट वा स्टम्प आउट हुन एउटा बेलमात्र झरे पुग्छ। यदि एउटा बेल झरिसकेको छ भने अर्को झरेपनि पुग्छ। तर दुबै बेल झरेको स्थितिमा हातमा बल लिएर कुनै एउटा स्टम्प उखेल्दा हुन्छ। यदि  तीन वटै  स्टम्प ढलिसकेका छन् भने कुनै एउटा स्टम्प गाडेर फेरि उखेल्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button