आइपीएलमा चेन्नाईको विजयी सुरुवात
शनिबारदेखि युएईको आवुधावीमा सुरु भएको इण्डियन प्रीमियर लीग (आइपीएल) २०२० मा साविक उपविजेता चेन्नाई सुपर किंग्सले विजयी सुरुवात गरेको छ ।
आवुधावि क्रिकेट रंगशालामा भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इण्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नाईले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । मुम्बइले दिएको १६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले १९.२ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै जित हासिल गर्यो ।
चेन्नाईको जितमा अम्बाती रायडुले ७१ र फाप डु प्लेसीले अविजित ५८ रन बनाए । मुम्बईका लागि राहुल चहर, क्रुनाल पाण्डेय, जसप्रित बुमराह, जेम्स प्याटिन्सन र ट्रेन्ट बोल्टले समान एक/एक विकेट लिए ।
यसअघि चेनाईले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङमा उत्रिएको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १६२ रन जोडेको थियो । मुम्बइका लागि शौरभ तिवारीले ४२ र क्वेन्टन डिककले ३३ रन जोडे । चेन्नाईका लागि लुङगी एनगिडीले ३, दीपक चहरले २, रविन्द्र जडेजाले २ र साम करन र पियुष चौलाले समान एक/एक विकेट लिए ।
यसअघिको संस्करणमा मुम्बइले चेन्नाईलाई एक रनले पराजित गर्दै उपाधि जितेको थियो ।