पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : रनवे तयार, ६ महिनाअघि नै निर्माण सकिने

कृष्णमणि बराल / अन्नपूर्ण पोस्ट

पोखरा : राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सकिएको छ। विमानस्थलको महत्वपूर्ण रनवेको काम सकिएसँगै विमानस्थलको निर्माण तोकिएको समय भन्दा ६ महिना अघि नै सकिने गरि काम अघि बढेको छ।

रनवे सकिनुको साथै अहिले विमानस्थलको टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, लगायतका काम तीब्र गतिमा भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका इन्जिनियर कृष्ण पौडेलले जानकारी दिए। रनवे निर्माणको काम सकिएसँगै महत्वपूर्ण ३५ प्रतिशत भन्दा बढी काम सकिएकोले तोकिएको उनले बताए।

सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समयसीमा भन्दा ६ महिना अघि नै सक्ने गरी काम युद्धस्तरमा भइरहेको पनि चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकारी कृष्ण चापागाईले जानकारी दिए। अहिले चिनियाँ २०० जना र नेपाली २५० जना गरि ४५० जनाले नियमित काम गरीरहेको पनि उनले बताए।

सन् २०१७ को नोभेम्बर महिनादेखि विमानस्थलको निर्माण सुरु भएको हो। सन् २०१९ भित्र ६० प्रतिशत भन्दा बढी काम सकिने र सन् २०२० भित्र सबै काम सकिने गरी काम भइरहेको छ। विमानस्थल निर्माण छिटो सम्पन्न गर्ने नाउँमा गुणस्तरमा सम्झौता भने नहुने उनले सुनाए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे सिमेण्ट, बालुवा प्रयोग गरी विभिन्न चरणमा ढलान गरी निर्माण भइरहेको छ। ढलान गरी निर्माण भएको रवने नेपालकै पहिलो हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्वायर मिटरमा बन्ने छ। ८ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्यार मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो।

टर्मिनल भवनमा वार्षिक ५ लाख क्षमताको हुने छ। यसको साथै अर्को छुट्टै टर्मिनल भवन पनि निर्माण गरिने पनि नागरिक उड्यान प्राधिकरणले बताएको छ।

सन् २०२१ को जुलाईसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सकेर संचालनमा ल्याउने गरी निर्माण तालिका बनाएर काम अघि बढेको हो। पोखरा महानगरपालिका वडा नम्बर १४ मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम गरिरहेको छ।

विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ।

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोर डी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन्।

२५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १९२ हाराहारीमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button