हमाद विमानस्थलमा नवजात शिशु फेला परेपछि अनुसन्धान सुरु

गत आइतबार अष्ट्रेलियाको च्यानल सेभेनले आफ्नो १३ महिला नागरिकलाई यात्राको क्रममा हमाद विमानस्थलमा आपत्तिजनक परिक्षण गरिएको घटना सार्वजनिक गरेको थियो । त्यसलगत्तै बिबिसी,द गार्जियन जस्ता विश्व प्रमुख समाचार माध्यमले घटना बारे लेख्दा हमाद विमानस्थलको यतिखेर आलोचना भएको छ ।
च्यानल सेभेनले लेखे अनुसार ती अस्ट्रेलियाली महिलाहरूलाई विमानस्थलस्थित एम्बुलेन्स भएको ठाउँमा लगिएको थियो र परीक्षण गर्नुअघि भित्रि वस्त्र खोल्न लगाइएको थियो। अक्टोबर २ तारिखमा कतार एअरवेजको विमान उड्नुअघि किन परीक्षण गरिएको भनेर ती महिलाहरूलाई बताइएको थिएन।
अस्ट्रेलियाको सरकारले त्यस विषयमा कतारका अधिकारीहरूसँग चासो समेत व्यक्त गरेको छ।
“उक्त घटनाबारे कतारी अधिकारीहरूसँग हामीले आधिकारिक रुपमा गम्भीर चासो व्यक्त गरेका छौं र उनीहरूले हामीलाई विस्तृत र पारदर्शी सूचना छिट्टै दिने आश्वासन दिएका छन्,” अस्ट्रेलियाको विदेशमामिला मन्त्रालयका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन् ।
हमाद विमानस्थल के भन्छ ?
समाचार बाहिरिएपछि हमाद विमानस्थलले पनि तत्काल विज्ञप्तिमा जारी गर्दै प्रतिक्रिया जनाएको छ । विमानस्थलको शौचालयमा कर्मचारीहरूले एउटा नवजात शिशु फेला पारेपछि महिलाहरूको परीक्षण गर्न लगाइएको विमानस्थलले बताएको छ ।
शिशु कसको हो भन्ने खुलेको छैन र अहिले सुरक्षित तरिकाले राखिएको छ। परीक्षण गरिनेमा १३ जना अस्ट्रेलियाली महिला सहित अन्य पनि रहेको विमानस्थलले बताएको छ।
अनुसन्धान सुरु
प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको नवजात शिशुको घटनाको विस्तृत र पारदर्शी अनुसन्धानका लागि आज निर्देशन दिनुभएको छ । अनुसन्धानको नतीजा अन्तर्राष्ट्रिय साझेदारहरूमाझ सार्वजनिक गरिनेछ।
यस विषयमा कतारको जीसीओले सार्वजनिक गरेको विज्ञप्ति अनुसार उक्त नवजात शिशु कागजमा पोको पारेर प्लास्टिकको झोलामा लुकाई फोहोरको डब्बामा फेला परेको थियो।
विमानस्थलको इतिहासमै यस्तो खालको घटना पहिलोपटक भएको छ । कतारको कानून उल्लंघन संगै ज्यान जोखिम सम्बन्धि घटना भएका कारण नवजात शिशुको आमाबाबुको पत्ता लगाउन तत्काल खोजी सुरु गरिएको थियो । तुरुन्तै निर्णय गरि गरिएको खोजीको उद्देश्य त्यस्तो भयानक अपराधीलाई उम्कन बाट रोक्नु थियो र सोको कारण ती यात्रुहरुको व्यक्तिगत स्वतन्त्रताको हक उल्लंघन भएकोमा विमानस्थलले माफी मागेको छ ।
कतार आफ्नो यात्रुहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न प्रतिवद्ध छ, “जीसीओको विज्ञप्तिमा भनिएको छ।