डिसेम्बर १८ तारिक अल रय्यान रंगशालाको उद्घाटन हुने

अल रय्यान रंगशाला डिसेम्बर १८ तारिक उद्घाटन हुने भएको छ। कतारको राष्ट्रिय दिवसको अवसर पारेर उद्घाटन हुन लागेको रंगशालामा सोही दिन अमिर कपको फाइनल खेल पनि हुँदैछ ।
“अल अरबी र अल साद क्लब बिच डिसेम्बर १८ मा अमिर कप २०२० को फाइनल खेल अल रय्यान रंगशालामा हुनेछ,” कतार फुटबल एसोसिएसनले आफ्नो सामाजिक संजालमा लेखेको छ ।
खलिफा,अल जनौब,वक्रा र एजुकेसन सिटी रंगशाला पछि उद्घाटन हुने रय्यान रंगशाला कतारले आयोजना गर्ने फिफा विश्वकपका लागि आठ मध्ये चौथो रंगशाला हुनेछ । जम्मा ४० हजार दर्शक सिट क्षमता भएको यस रंगशालामा २०२२ विश्वकपको अन्तिम १६ सम्मका खेलहरु सन्चालन हुनेछ ।
चम्किलो वस्तुको आकारमा निर्माण भएको रंगशालाले परिवारको महत्त्व, मरुभूमिको सौन्दर्य, मूल वनस्पति र जीव जन्तु, र स्थानीय र अन्तर्राष्ट्रिय व्यापार पक्षलाई चित्रण गरेको छ ।
रंगशाला पुग्न दोहा मेट्राेको ग्रीन लाइन अन्तर्गत अल रिफा स्टेशन जान सकिनेछ ।