सगरमाथाको उचाइ मंगलवार घोषणा गरिने

काठमाडौँ– नेपाल सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गर्ने भएको छ ।
नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना हुने उक्त कार्यक्रमका लागि पत्राचारसमेत गरेका छन् ।
सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो ।यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो ।
सन् २०१९ मा चीनका राष्ट्रपति सी चिङपिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । त्यहीबमोजीम नेपाल र चीनका सरकारी टोलीले संयुक्त रूपमा काम गरेका थिए ।
गत मंसिर १० गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति प्रदान गरेको थियो ।