हवाई उडान सहित चारवटै देशले कतारसंगको सबै सम्बन्ध पुनर्स्थापना गर्ने

साउदी अरेबिया सहित कतारमाथि नाकाबन्दी गर्ने चार वटै देशले कतार संगको सम्बन्ध पुनस्थापित गर्ने सहमति जनाएका छन् ।
अल उलामा भएको ४१ औं जिसिसी सम्मेलनको समापन पछी साउदी अरेबियाका विदेशमन्त्री फैसल बिन फरहान अल सउदले पत्रकार सम्मेलन मार्फत साउदी अरेबिया संगै युएई,बहराइन,इजिप्टले हवाई उडान सहित कतारसंगको सबै सम्बन्ध पुनस्थापित गर्ने सहमति भएको बताएका छन् ।
“आज शिखर सम्मेलनमा कतारसँगको विवादलाई पूर्णरूपमा टुंग्याउने र कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्ने सहमति भएको छ । सम्झौताले कतार र चार राष्ट्रबीच सम्पूर्ण कूटनीतिक सम्बन्धको पुनर्स्थापना गर्नेछ । यो संगै अब सबै विवादित मुद्दाहरू सामान्य अवस्थामा फर्किएको छ, ‘साउदीका विदेश मन्त्री फैसल बिन फरहान अल सउदले पत्रकार सम्मेलनमा बताए ।
खाडी सहयोग परिषद (जीसीसी) का महासचिव नायफ फलाह अल हजाफ पनि साउदी अरेबियाको अल उलामा आजको सम्मेलनमा उपस्थित थिए ।
खाडी शिखर सम्मेलनको समापन वक्तव्यबाट आएको प्रमुख कुरा :
- खाडी शिखर सम्मेलनले राजनीतिक स्थिति एकीकृत गर्ने र रणनीतिक साझेदारी विकास गरी खाडी सहयोग परिषदको भूमिकालाई सुदृढ पार्ने सहमति ।
- सम्झौताले कुनै पनि राज्यको सार्वभौमिकता उल्लङ्घन नहुने ।
- सम्झौताले खाडी सहयोग र भ्रातृत्व सम्बन्ध पुनर्स्थापनाको लागि आह्वान गर्ने ।
- सम्झौताले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप नहुने ।
- खाडी सुरक्षामा आउने खतरा विरुद्ध संयुक्त रुपमा विरोध गर्ने ।
- शिखर सम्मेलनले खाडी स्थिरता र सुरक्षाको लागि नयाँ पृष्ठ प्रतिनिधित्व गरेको छ।
- चुनौति सामना गर्न जीसीसी राज्यहरु बीच सैन्य एकीकरण बढाउने ।