शेख जोआनले पनि लगाए कोरोनाभाइरसको खोप

कतार ओलम्पिक समिति (क्यूओसी) का अध्यक्ष शेख जोआन बिन हमाद अल थानीले आइतबार पहिलो पटक कोभिड-१९ को खोप लगाउनु भएको छ । यसअघि अमिर शेख तमिम बिन हमाद अल थानी संगै विभिन्न विशिष्ट व्यक्तिहरुले पहिलो डाेजको खोप लगाईसकेका छन् ।
कतारी खेलकुद टीमको नेतृत्व गर्ने शेख जोआनले सन् २०१५ देखि कतार ओलम्पिक समितिको अध्यक्ष पद सम्हाल्दै आउनुभएको छ । उहाँकै नेतृत्वमा कतारले हालसालै २०३० को एसियन गेम्स आयोजना गर्ने बिड जितेको थियो ।
कतारले गएको डिसेम्बर २३ देखि जनवरी ३१ सम्म पहिलो चरणको कोरोनाभाइरसको खोप प्रदान गरिरहेको छ । जसमा ६५ वर्ष भन्दा माथिका व्यक्ति,दीर्घकालीन रोग भएका व्यक्ति,कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र विभिन्न मन्त्रालयका विशेष कर्मचारीहरुलाई प्राथमिकता दिइएको छ ।
खोप २१ दिनको फरकमा दुई पटक लगाउनुपर्नेछ ।
आउने दिनहरुमा खोप उपलब्ध भए अनुसार सबै नागरिकलाई खोप निशुल्क प्रदान गर्ने कतार सरकारले बताएको छ । खोप लगाउन अनिवार्य नभएपनि वरिष्ठ स्वास्थ्यकर्मीहरुले खोप लगाउन निकै महत्त्वपूर्ण रहेको र यसको कुनै नकारात्मक प्रभाव नभएको बताएका छन् ।
खोप लगाउन सरकारी हेल्थ कार्ड आवश्यक हुनेछ ।