माटोको डिजिटल नक्सा तयार, दक्षिण एसियामै पहिलो नेपाल

काठमाडौं – नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्व वा गुणहरु देखाउनका लागि जिपिएमका माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो । उक्त नक्साको बुधबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नम्साको समुद्घाटन गरेका हुन् ।

मन्त्रालयका अनुसार देशैभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो । दक्षिण एसियाका अन्य देशहरुमा पनि यो प्रविधिको माटोको नक्सा तयार ती केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सिमित छन् । त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो ।

प्रधानमन्त्री ओलीले माटोको जिडिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताए । ‘माटोमा कुन पोषक तत्व छ, कुन पोषक तत्व छैन वा बढी छ । रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउनसक्छ’, उनले भने ।

किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्च सक्ने पनि प्रधानमन्त्रीले बताए । जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गरिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

देशमा पर्याप्त उत्पादन भए पनि आयातित लाम्चो दाना भएको चामल तथा आयातित खानेकुरा बजारबाट किनेर खाने बानी हटाउनु पर्ने भनाई उनको थियो । ‘हामीसँग प्रशस्त खाद्यबाली छ । तर हामीलाई लामा सीटा भएका पातलो चामल चाहिन्छ । खाने होइन ज्यूनार गरेजस्तो लाग्ने, भात होइन भुजा जस्तो लाग्ने’, प्रधानमन्त्री ओलीले भने, ‘त्यो त्यही माटो चामललाई पेलेर लामो, पातलो बनाइएको नक्कली चामल हो । कुनै धान देख्नुभएको छ १ इञ्च लामो ? त्यो सब धोका हो । पेलेर लामो बनाइएका हुन् । सब नक्कली हुन् ।’

देशमा ६५ प्रतिशत जनता कृषिमा आधारित भए पनि राष्ट्रिय आयमा २७ प्रतिशत मात्र योगदान रहेको भन्दै उनले प्रतिशतको तुलना अलि नमिलेको बताए । यसलाई सन्तुलनमा ल्याउन उत्पादकत्वमा व्यापक वृद्धिमा जानुपर्ने पनि प्रधानमन्त्रीले बताए । ‘ठूलो मात्रामा उत्पादन गरेमा हामीले निर्यात गर्न बजार पाउँछौं । तर त्यसका लागि गुणस्तर, सहज मुल्य र समयमै आपूर्ति गर्नसक्ने क्षमता आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने । कृषिमा दिइने अनुदानलाई दुरुपयोग नहुने गरी परिवर्तन गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब कृषिमा युवाहरुलाई आकर्षित गरिनुपर्ने समेत बताए ।

आफू ३ वटै मन्त्रालयको नेतृत्वमा गइरहँदा ऐतिहासिक महत्व राख्ने महत्वपूर्ण कार्य गर्ने अवसर प्राप्त गरेको भन्दै उनले कृषि मन्त्रालयमार्फत दक्षिण एशियाकै पहिलो देश हुनेगरी माटोको डिजिटल नक्सा तयार गर्न सफल भएको बताइन् । ‘सार्क क्षेत्रमै हामीले पहिलोपटक माटोको डिजिटल नक्सा बनाउन सफल भएका छौ । हामीले नक्सा निर्माण गर्यौ’, मन्त्री अर्यालले भनिन्, ‘यसबाट माटोको अवस्था के छ ? के गर्दा उत्पादन बढाउन सकिन्छ ? गुणस्तरको अवस्था के छ भनेर पत्ता लगाएर त्यसअनुसारको कृषि कर्म अगाडी बढाउन सकिन्छ ।’ यो नक्सा कार्यान्वयनमा ल्याउदा कृषि क्षेत्रमा ठूलो क्रान्ति गर्न सकिने उनको भनाइै थियो ।

देशभरबाट कुल २३ हजार दुई सय ७३ वटा माटोको नमूना परिक्षण गरी तयार गरिएको यो नक्सांकनले कृषकलाई सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रसायनिक पक्षबारे विस्तृत जानकारी पाउनसक्छन् । नक्सांकन कार्यले किसानमात्र नभई नीति निर्माता, अनुसन्धान कर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्ता लाईसमेत माटो सम्बन्धी पूर्ण जानकारी दिनेछ ।

त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले दक्षिण एशियामै पहिलो पटक यस प्रकारको प्रविधि प्रयोग नेपालमा ल्याइएको जानकारी दिए । माटो व्यवस्थापनको लागि उक्त डिजिटल नक्सा कोसेढुंगा साबित हुने समेत सचिवा कार्कीको भनाई थियो ।

यसैबीच नेपाल कृषि अनुसन्धान परिषद्का प्रमुख डा. दिपक भण्डारीले २१ औं शताब्दी प्रविधिमा नक्साको प्रयोग उदाहरणीय भएको बताए । नक्सालाई मोबाइल एपबाट पनि प्रयोगमा ल्याउने योजनामा रहेको समेत प्रमुख भण्डारीले जानकारी दिए। कार्यक्रममा भिडियो सन्देशमार्फत नेपालका लागि युएसएडकी मिसन प्रमुख सेपिडे केभानसाडले नेपाललाई बधाई ज्ञापन गर्दै यस प्रकारका सहयोगको लागि युस एड सदैव साथ रहने बताइन् ।
– एटुजेट समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button