आज नेपालको संविधान दिवस, प्रधानमन्त्रीले ओलीले विशेष सम्बोधन गर्ने

आज असोज ३ गते नेपालको संविधान जारी भएको पाँच वर्ष पुगेर नेपालमा छैटौं संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना हुँदै छ । सो विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुने बताइएको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।
शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सम्बोधनमार्फत् उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।
संविधान दिवसमा विभूषण पाउने व्यक्तिहरुको नाम सिफारिस
सरकारले संविधान दिवसका अवसरमा विभूषण पाउने व्यक्तिहरूको नाम सिफारिस गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभिन्न विधामा विभूषण पाउने ५ सय ९० व्यक्तिको नाम सिफारिस गरेको एक मन्त्रीले बताए।
‘आजको मन्त्रिपरिषदमा अरु एजेण्डा केही पनि थिएन। विभूषण पाउने व्यक्तिहरूको नाम सिफारिस गरिएको हो,’ती मन्त्रीले भने, ’विभिन्न विधामा गरी ५ सय ९० को हाराहरीमा विभूषण पाउने व्यक्तिको नाम सिफारिस भएको छ।’
उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वको विभूषण सिफारिस समितिको प्रस्तावको आधारमा मन्त्रिपरिषदले मानपदवीको निर्णय गरेको हो।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ।
गत वर्ष सरकारले संविधान दिवस(असोज ३) का दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई विभिन्न सम्मान र पदक दिने घोषणा गरेको थियो।
यसपटक सिफारिस गरिएका व्यक्तिले अर्को वर्षको संविधान दिवसका दिन विभूषण पाउनेछन्।
नेपाली राजदूतावास बन्द रहने
नेपालको राष्ट्रिय दिवस (संविधान दिवस) को अवसरमा कतार एनखालिद स्ठित नेपाली राजदूतावास मिति २०७७ साल असोज ४ गते आइतबार तदनुसार २० सेप्टेम्बर २०२० को दिन बन्द रहने भएको छ ।
शुक्रवार र शनिवार सर्वजनिक बिदाका कारण बन्द रहदै आएको राजदूतावासले फेसबूक मार्फत सुचना जारी गर्दै भोली आईतवार कार्यलय बन्द रहने जानकारी गराएको हो ।
पर्सी सोमबार देखि भने राजदूतावास पूर्ववतरुपमा खुला रहने छ ।