वैदेशिक रोजगारमा जाने व्यक्तिको हकमा विशेष कानुन नहुँदा न श्रीमती, न सम्पत्ति !

पछिल्लो समय बढ्दै गएको वैदेशिक रोजगारीले देशमा रेमिट्यान्स त नेपाल भित्र्यायो। तर, यसले सामाजिक सम्बन्ध र धेरै परिवारलाई छिन्नभिन्न पनि पारेको छ। छोरा विदेश जाने, बुहारी सहर पस्ने क्रम बढ्दो छ। देशका अधिकांश गाउँघरमा वृद्धवृद्धा मात्रै छन्।
श्रीमान् विदेशमा दुःख गर्ने, श्रीमती यता पैसा उडाउने गरेका घटना थुप्रै देखिएका छन्। विदेशमा रगतपसिना बगाएर फर्किंदा न श्रीमती न सम्पत्ति न त आफन्तकै अवस्थामा पुगेका छन्। यस्ता घटनामा पीडित भएकाहरूलाई न्याय दिलाउन कानुन अभाव देखिएको छ। श्रीमती हुँदाहुँदै अर्को बिहे गर्ने पुरुषले बहुविवाहमा सजाय भोग्नुपर्ने हुन्छ। तर, यस्तै अवस्थामा महिलालाई सजाय छैन। पहिलो श्रीमान्सँग स्वतः सम्बन्धविच्छेद भएको ठहरिने कानुनी व्यवस्था रहेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
अधिवक्ता प्रियहरि भण्डारीका अनुसार वैदेशिक रोजगारमा गएका व्यक्तिको हकमा सम्बोधन गर्ने विशेष कानुन छैन। घरसारमा पठाएको रकम मासियो, नासियो भनेको अवस्थामा सजाय गर्ने कानुन नै छैन।
देवानी संहिताको लेनदेन महलमा साहु र आसामीको हकमा ऋण लिएको, दिएको, खाएको देखियो भने सावाँब्याज तिराइदिने, सम्पत्ति बन्डा गराइदिने व्यवस्था छ। कानुनअनुसार एकाघरमा श्रीमान् श्रीमती, दाजुभाइको बीचमा भएको सगोलको कारोबारमा ऋणधनको अर्थ लाग्दैन। यसलाई सगोलको सम्पत्ति मानिन्छ।