काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि लकडाउन
काठमाडौं : काठमाडौं उपत्यकामा बिहिवार देखि निषेधाज्ञा जारी गरिने भएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले उपत्यकाभित्र वैशाख १६ गते आर्थत अप्रिल २९ बिहिवार देखी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
निषेधाज्ञा अवधिमा सार्वजनिक यातायातका साथै निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ। मानिसका गतिविधि बाक्लो हुने अन्य क्षेत्रमा पनि निषेध गरिने छ। पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा हुने भनिए पनि कम्तीमा एक महिनासम्म निषेधाज्ञा लागू हुने बताइएकाे छ ।
आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितिको सक्रिय संख्यालाई हेरेर स्थानीय प्रशासनलाई निषधाज्ञा गर्न सिफारिस गरेको थियो। शहरहरूमा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो।
के खुल्छन् ?
- खाद्यान्न, फोहोरमैला, स्वास्थ्य, सञ्चार सहितका अत्यावश्यक सेवाका सवारी
- औषधि पसलहरू
- खाद्य सामग्री पसलहरू (दैनिक बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म)
- डिपार्टमेन्ट स्टोरका ग्रोसरी पसलहरू मात्र बिहान १० देखि साँझ ५ बजेसम्म
- होटल/रेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउने
- सरकारका कर्मचारीहरू एवं वित्तीय तथा अत्यावश्यक सेवाका कर्मचारीहरूको आवतजावत
- सञ्चारकर्मीहरूको आवतजावत
अनुमति लिएर बढीमा १५ जना सहभागी हुने गरी विवाह र ब्रतबन्धजस्ता कार्य गर्न भने सकिने छ।
अन्तर्राष्ट्रिय उडानका भिसा र टिकट हुनेहरू त्यस्तै अस्पताल जानुपर्ने बिरामी, कुरुवा एवं मृत्यु संस्कारमा अनिवार्य जानुपर्नेले अनुमति लिएर यात्रा गर्न भने पाउने छन् ।
के खुल्दैनन् ?
- अन्यावश्यकबाहेक सबै सेवा र व्यापारव्यवसाय
- सभा सम्मेलन, तालिम, गोष्ठी र सेमिनार
- सार्वजनिक र निजी सवारीसाधन
- सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पौडी पोखरी, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना
काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरू अनिवार्य रूपमा तोकिएका क्वारन्टीन/होम आइसोलेसनमा बस्नुपर्ने आदेश गरिएको छ।
– बिबिसीको सहयोगमा