प्रधानमन्त्री केपी ओलीले पाएनन् विश्वासको मत, नयाँ सरकार गठनको आह्वान गर्न राष्ट्रपतिलाई आग्रह
काठमाडौँ, वैशाख २७–
अन्ततः केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको कम्युनिष्ट सरकार ढलेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि उनको सरकार ढलेको हो । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट प्रस्तुत विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १ सय २४ मत आएको हो । सरकारको नेतृत्वका लागि आफू नै उपयुक्त पात्र रहेको भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाउँ भनी संसदमा प्रस्ताव दर्ता गराएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेको छ । यी तीन दलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरूगर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आग्रह गरेका हुन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले नयाँ सरकारको प्रक्रिया सुरू गर्न आह्वान गरेका हुन्। – नारायणी अन्लाईन