विवादमा अड्कियाे कतारले नेपालमा खोल्ने भनिएको “भिसा सेन्टर “

 

होम कर्की / कान्तिपुर 

कतारले काठमाडौंमा खोल्न लागेको भिसा सेन्टर ‘लाउन्ज’ शुल्कसम्बन्धी विवादमा अड्किएको छ । नेपाली कामदारमाथिका शोषण अन्त्य गर्ने दाबी गर्दै खोल्न लागिएको सेन्टरमा प्रवेश गरेबापत शुल्क लिने/नलिनेमा विवाद छ ।

 

नेपाली कामदारले विद्युतीय करारपत्रमा हस्ताक्षर, औंठाछाप र स्वास्थ्य परीक्षण गर्नका लागि भिसा सेन्टर स्थापना गर्न लागिएको कतारले जनाएको छ । यो सेवा लिएबापतको शुल्क रोजगारदाताले ब्यहोर्ने कतार सरकारको भनाइ छ । लाउन्ज शुल्क (सेन्टरभित्र प्रवेश गरेबापत लिइने शुल्क) बारे कतारले नेपाल सरकारलाई स्पष्ट पारेको छैन ।

 

 

श्रीलंका, बंगलादेश, भारत र पाकिस्तानमा भिसा सेन्टर स्थापना गरी सेवा दिइसकेको कतारले ती देशमा व्यवस्थापन ठेक्का पाएको निजीस्तरको सेवा प्रदायकबाट कामदारसँग लाउन्ज शुल्क लिइरहेको छ । कतार भिसा सेन्टरकै वेबसाइटमा उल्लेख भएअनुसार बायोमेट्र्रिक भिसा शुल्क एक सय ३७ डलर कामदारले तिर्नु नपर्ने उल्लेख छ । ‘लाउन्ज’ शुल्क भने स्थानीयस्तरमा सेन्टर सञ्चालन गर्ने सेवाप्रदायक कम्पनीले लिने उल्लेख छ ।

 

लाउन्ज शुल्कबापत भारतमा २५ सय भारु, बंगलादेशमा २९ सय टाका, श्रीलंकामा ६ हजार एलकेआर, पाकिस्तानको इस्लामावादमा ४८ सय ४० र कराँचीमा ४७ सय १५ पाकिस्तानी रुपैयाँ लिइने गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार देशमा लाउन्ज शुल्क लिएको भन्दै नेपालमा सञ्चालन गर्ने भिसा सेन्टरलाई अनुमति दिएको छैन । नेपालमा भिसा सेन्टर व्यवस्थापनका लागि सिंगापुरमा दर्ता भएको ‘बायोमेट सर्भिस’ ले ठेक्का पाएको छ । बायोमेटले नेपालको जिम्मेवारी मल्टिभर्स प्रालिलाई दिएको छ ।

 

कतारले भिसा सेन्टरलाई काठमाडौंस्थित कतारी दूतावासको अंग बनाएको छैन । श्रम मन्त्रालयका अधिकारीहरूले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका यी कम्पनीमाथि नेपालको ऐन–कानुन र नियमावली आकर्षित हुने भन्दै कतार सरकारको ध्यानाकर्षण गराएको छ ।

 

हालै कतारसँग द्विपक्षीय बैठकमा नेपालले यस विषयलाई गम्भीरतापूर्वक उठाएको श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए । ‘कतार भिसा सेन्टरलाई श्रम सम्झौताभित्रको एउटा अंग बनाउनुपर्छ,’ उनले भने, ‘कतार भिसा सेन्टर दूतावासकै अंग भएको भए कूटनीतिक कुरा हुन्थ्यो । निजी क्षेत्रले व्यवस्थापन गर्ने भएपछि नेपालको ऐन–कानुन आकर्षित हुन्छ ।’

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार सरकारको मापदण्डअनुसार फिंगरप्रिन्ट, बायोमेट्रिक, स्वास्थ्य परीक्षण, करारपत्रमा हस्ताक्षर समयमै हुने सुनिश्चित गर्नुपर्ने, सेवाप्रदायकले कुनै पनि खालको शुल्क कामदारसँग लिन नपाउने सुनिश्चित कतार भिसा सेन्टरले नै गर्नुपर्ने सर्त राखेको छ । जे जति शुल्क लाग्छ, ती सबै रोजगारदाताबाटै बेहोर्नुपर्ने, करारपत्रमा हस्ताक्षर गर्ने बेला कामदारले प्रस्ट रूपमा सर्त र अवस्थाबारे बुझ्ने वातावरण बनाउनुपर्ने, सेवा प्रदायक संस्थाले दिने सेवाबारे नेपालसँग परामर्श गर्नुपर्ने नेपालको अडान छ ।

 

के हो भिसा सेन्टर?

कतार सरकारका तर्फबाट खोलिने यस्तो केन्द्रले शून्य लागतमा कामदार पठाउने व्यवहारिक आधारहरू तयार गर्ने नेपाली अधिकारीहरूले बताएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले भिसा केन्द्र स्थापना गर्दा बिचौलियाहरूले अनेक नाममा मोटो रकम असुल्ने बाटो बन्द हुने बताउँछन्।

उनले भने, “श्रमिकहरूको खर्च राहदानी बनाउन मात्र हुने र सबै प्रक्रिया नेपालमै सकेर कतारमा सिधै कार्यस्थलमा पुग्ने परिवेश तयार हुनेछ।”

भिसा सेन्टरलाई दिनुपर्ने सेवा शूल्क समेत रोजगारदाताले व्यहोर्नुपर्ने माग नेपाली पक्षले गर्नेछ।

भिसा केन्द्रको सेवाहरू

भिसा केन्द्र स्थापना भएपछि निम्न सेवाहरु प्रदान गर्नेछन्:

  • रोजगारीको अवसरबारे सूचना दिने,
  • प्रवेशाज्ञा एवम् श्रमपत्र जारी गर्ने,
  • श्रमिक-रोजगारदाताबीचको अन्तिम सम्झौता गराउने, र
  • स्वास्थ्य जाँच गर्ने।

यसअघि भिसा केन्द्र स्थापना भएका देशमा त्यहाँका प्रमुख भाषाहरूमा यी सेवाहरू उपलव्ध छन्।

नेपाल र कतारबीच अनौपचारिक रुपमा यसबारे सकारात्मक छलफल भएसँगै कतारी पक्षले सम्झौता अगावै तयारी थालिसकेको छ।

बिहीवार सकिने वार्तामा दुवै देशहरू यसमा सहमत भए दुवै देशका मन्त्रिपरिषदबाट अनुमोदन भएर मन्त्रिस्तरमा सम्झौतामा हस्ताक्षर हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button