नेपाल र कतारबीच हप्तामा एक-एक उडान हुने
कतार र नेपालबिच उडान खुला हुने भएको छ ।
चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलोमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि नेपाल सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ ।
बिहीबारको मन्त्रीपरिषद बैठकले जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा साप्ताहिक दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
अहिले भारतमा हप्ताको दुई उडान र कुटनीतिक नियोगको पत्रका आधारमा कतार र टर्किस एयरलायन्सले चार्टर उडान अनुमति पाइरहेका छन् । आन्तरिक उडान खोल्नेबारे भने कुनै निर्णय भएको छैन ।
वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातीदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।
नेपालमा क्वारेन्टाइनको नियम
मन्त्रिपरिषदले दुवै खोप लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने भनेको छ । एउटा खोप बाँकी भएको तर पीसीआर नेगेटिभ भएका यात्रुले तीन दिन काठमाडौंका होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्नेछ ।
खोप नलगाएको तर पीसीआर नेगेटिभ आएकाले १० दिन अनिवार्य आफ्नै खर्चमा होटलमा बस्नुपर्ने छ ।