किन दुख्छ घुँडा ?, उपचार के ?

हड्डी अथवा त्यसको समग्र रुप अस्थिपञ्जरबाट नै कुनै पनि प्राणी चलायमान हुनसक्छ। हाडले शरीरलाई एउटा आकार दिन्छ। हाडलाई चलायमान वा गतिशील बनाउन जोर्नी आवश्यक हुन्छ।

घुँडामा पनि त्यस्तै किसिमको हड्डी हुन्छ। घुँडालाई दायाँबायाँ जान नदिन हड्डीलाई लिगामेन्टले बाँधेर राखेको हुन्छ। घुँडाको दाँयाबाँया र घुँडाको भित्रपट्टि दुई÷दुई वटा गरी चार वटा लिगामेन्ट हुन्छन्।

लिगामेन्ट एक प्रकारको नशा हो, यसले जोर्नीलाई बाँधेर राख्ने काम गर्छ। दुई घुँडाको बीचमा कुरकुरे हड्डी हुन्छ र त्यो हड्डी एक अर्कोमा नठोक्कियोस् भन्नाका लागि दुवै घुँडामा चन्द्रमा आकारको एक किसिमको जाली हुन्छ, त्यो जालीलाई मेनिस्कस भनिन्छ। त्यसले घँुडाको माथिलो भागको हड्डी र तल्लो भागको हड्डी एक अर्कासँग धेरै घर्षण हुन दिँदैन।

घुँडा दुख्ने समस्या
घुँडा दुख्ने समस्या विशेषगरी युवावस्थामा २० देखि ३० वर्षको उमेर तथा उमेर ढल्कँदै गरेका ५० देखि ६० वर्षको उमेर समूहका मानिसलाई बढी देखिन्छ। शारीरिक कसरत धेरै गर्ने, खेलकुद गर्ने, भुर्इंमा बसेर योगा गर्ने, स्कुटर चलाउने, टुक्रुक्क भुर्इंमा बसेर उठ्दा प्रायः यस्तो समस्या आउँछ।

के कारणले हुन्छ समस्या ?
घुँडामा विभिन्न कारणले गर्दा चोट लाग्छ। चोट दुई प्रकारका हुन्छन्, बाहिर देखिने चोट र बाहिर नदेखिने भित्री चोट। भित्री चोटमा  लिगामेन्ट इन्जुरी, कुरकुरे हड्डी भाँचिने, दुई घुँडाबीचको लिगामेन्ट च्यातिने समस्या हुन्छन्।

भित्रको चोट लागेपछि घुँडाले भर नपाउने, लड्न खोज्ने, घुँडा  अड्किने, दुख्ने कुनै चिज ठाउँबाट सरेको महसुस हुन्छ।

उपचार 
सुरुमा के कारणले चोट लागेको हो पत्ता लगाउनुपर्छ। त्यसपछि आवश्यक चेकजाँच गर्ने, एक्स–रे, एमआरआईका साथै आवश्यक परे सिटीस्क्यानसमेत गरेर घुँडामा कस्तो प्रकारको चोट लागेको हो पत्ता लगाउनुपर्छ।

समस्या पत्ता लगाइसकेपछि कस्तो उपचार गर्ने भन्ने थाहा हुन्छ। कुनैकुनै समस्यामा च्यातिएको भागमात्र सिलाउनुपर्ने हुनसक्छ। कुनै समस्यामा एउटा अंगको जाली झिकेर अर्कोमा राख्नुपर्ने हुन्छ। आजभोलि दूरविनको माध्यमबाट शल्यक्रिया गर्ने भएकोले सानो प्वाल बनाएर शल्यक्रिया गर्न सकिन्छ। कुनै अवस्थामा शल्यक्रिया गर्नु नपर्ने पनि हुनसक्छ। यस्तो बेलामा फिजियोथेरापीबाट पनि निको हुन्छ।

निको हुन कति समय लाग्छ ? 
यदि लिगामेन्टको समस्या छ भने लिगामेन्ट बनाउनुपर्ने भएकोले निको भएर पहिलाको जस्तै काममा फर्कन ९ महिनासम्म पनि लाग्नसक्छ। मिनस्कस (दुईटा हड्डी बीचको जाली च्यातिएको) कारणले समस्या भएको हो भने ४÷६ हप्तामा निको हुन्छ। कुरकुरे हड्डी भाँच्चिएको छ भने निको हुन २÷३ महिना लाग्नसक्छ। दूरविनको माध्यमबाट शल्यक्रिया गर्दा घाउ छिटो निको हुन्छ।

कतिपय व्यक्ति हड्डी भाँचिएर हिँड्न नसक्ने भएपछि मात्र अस्पताल जाने गरेको देखिन्छ। लिगामेन्ट च्यातिँदा वा कुरकुरे हड्डी भाँच्चिएको अवस्थामा सामान्य हिँड्नसक्ने भएकाले घरमै बसेर औषधि खानेगरेको पाइन्छ। यसले पछि गएर अप्ठ्यारो पार्नसक्छ।

औषधि खाएर दुखाइ कम भएपछि निको भएको ठानेर अस्पताल नजाँदा पछि बल्झिएर समस्या निम्त्याउँछ। समस्यालाई बेवास्ता गरी अस्पताल नगई बस्दा अर्को पनि लिगामेन्ट च्यातियो भने समस्या बढ्न सक्छ। दुवै जाली च्यातियो भने शल्यक्रिया गरेर पनि निको बनाउन गाह्रो हुन्छ।

– (डा जोशी आर्थोस्कोपी तथा स्पोर्टस इन्जुरी विशेषज्ञ हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button