नेपाली व्यवसायीले पठाए एक करोड बीस लाख बराबरको स्वास्थ्य सामग्री
कतारमा रहेका नेपाली व्यवसायीले नेपालमा एक करोड बीस लाख बराबरको सहयोग पठाएको छ ।
यहाँको नेपाली व्यवसायीको संगठन नेपाल बिजेनस एशोसिएशन कतारले नेपालमा कोरोनाभाइरसको महामारीबाट उत्पन्न समस्यामा राहत पुर्याउने उदेश्यले एक करोड २० लाख रुपैयाँ बराबरको भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र नेजल क्यानुला नेपाल सरकारलाई हस्तान्तरण गरेको कतारस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।
त्रिभुवन विमानस्थलमा गएको आइतबार भएको हस्तान्तरण कार्यक्रममा संगठनमा प्रमुख टिबी कार्की र अन्य पदाधिकारीको उपस्थितिमा सहयोग सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशेषज्ञ डाक्टर रोशन पोखरेललाई हस्तान्तरण गरेका थिए ।
राहत सामग्री खरिदका लागि संगठनका अध्यक्ष महेन्द्र चौलागाईको संयोजकत्वमा गठित कोभिड-१९ क्राइसिस रिलिफ एन्ड सपोर्ट ग्रुपले कतारमा रहेका व्यवसायी तथा अन्य इच्छुक दाताबाट सहयोग रकम संकलन गरेको थियो ।
उक्त सामग्री स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशका प्रादेशिक अस्पतालहरुलाई समान संख्यामा वितरण गरिने बताइएको छ । जस अन्तर्गत हरेक प्रदेशले दुई वटा भेन्टिलेटर, ६ वटा अक्सिजन कन्सन्ट्रेटर, ३०० वटा पल्स अक्सिमिटर, सात वटा नेजल क्यानुला पाउनेछन् ।
विपदको घडीमा नेपालमा सहयोग पठाउने कतारका व्यवसायी र सहयोगी दातालाई दूतावासले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा समेत राखेको छ ।