नेपालमा सहयोग पठाउने संस्था तथा व्यक्तिलाई दूतावासको सम्मान
नेपालमा कोरोना महामारीको बेला सहयोग पुर्याउने विभिन्न संघसस्था तथा व्यक्तिलाई कतारस्थित नेपाली दूतावासले सम्मान गरेको छ ।
दूतावासको कार्यालयमा हिजो भएको एक संक्षिप्त कार्यक्रममा राजदूत नारदनाथ भारद्वाजले दुई संस्था तथा ४८ जना व्यक्तिहरुलाई सम्मानपत्र सहित सम्मानित गर्नुभएको थियो । सम्मानित हुनेहरुमा नास्सेर अल अलि इन्टरप्राइजेजका अध्यक्ष नास्सेर अल अलि,सफारी ग्रुप अफ कम्पनिजका एचआर म्यानेजर अनुप थुलासिधारन र नेपाल बिजनेस एसोसिएसन कतारका अध्यक्ष महेन्द्र प्रसाद चौलागाई तथा उक्त संस्थाका पदाधिकारी तथा सदस्यहरू थिए । संस्थागत रूपमा नेपाल इन्जिनियर्स एसोसिएसन दोहा सेन्टर समेत सम्मानित भएको थियो ।
राजदूतावासको संरक्षकत्व र बिजनेस एसोसिएसन कतारका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईको संयोजकत्वमा गठन भएको कोभिड-१९ क्राइसिस रिलिफ एन्ड सपोर्ट ग्रुपले संगठनका पदाधिकारी लगायत सदस्यहरुको समेत सक्रियतामा १ करोड २० लाख बराबरको १४ थान भेन्टिलेटर, ४२ अक्सिजन कन्सन्ट्रेटर, २१०० थान पल्स अक्सिमिटर र नेजल क्यानुला ५० थान गरी जम्मा २२०६ थान स्वास्थ्य सामग्री खरिद गरी नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको थियो।